कुलिङ पिरियडबारे छानबिन गर्न सभामुखले थाले समिति गठनको तयारी

काठमाडौं । संघीय निजामती सेवा विधेयक २०८० मा व्यवस्था गरिएको कुलिङ पिरियडसम्बन्धी प्रावधान तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्ने तयारी गरिएको छ । यस विषयमा सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल समेत गरेका छन् ।
बिहीबार अपराह्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख घिमिरेले एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका थिए । छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी थिइन् ।
सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिम छानबिन समिति गठन गर्ने प्रस्ताव गरेका छन् ।
उनले समितिले गर्नुपर्ने कार्य र समयावधि साथै समितिमा रहने सदस्यहरूको नामावलीबारे दलहरूको प्रस्ताव पनि माग गरेका छन् ।
तीन प्रमुख दलका सचेतकहरूले संसदीय छानबिन समिति गठन गर्ने पक्षमा प्रस्ताव दिएका छन् । प्रमुख दलका नेताहरूले आगामी प्रतिनिधि सभा बैठकअघि आ–आफ्ना दलसँग छलफल गरेर सभामुखलाई जानकारी गराउने बताएका छन् ।
आगामी असार २३ गते बस्ने प्रतिनिधि सभाको बैठक अगावै दलहरूबीच समझदारी गरि कार्य व्यवस्था परामर्श समितिको परामर्शमा समितिको प्रस्ताव सभामा प्रस्तुत गर्ने सहमति भएको छ ।








