नेपाली सेनाका दुई सैनिक अधिकारी बर्खास्त

काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई सैनिक आचरण विपरीत कार्य गरेको आरोपमा बर्खास्त गरेको छ ।
सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ अनियमितता गरेको आरोपमा बिहीबार सैनिक जंगीअड्डाले यी अधिकारीहरूलाई बर्खास्त गरेको हो ।
यद्यपि, उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने भनिएको छ । यसै बीच, उनीहरूबाट अपचलन भएको रकम भराउन समेत आदेश जारी गरिएको छ ।
सैनिक स्रोतका अनुसार, सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँको हिनामिना प्रकरणको छानबिन गर्दा उक्त अनियमितता भएको पाइएको हो ।
सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा आर्थिक वर्ष २०७८/७९ र ०७९/८० मा अनियमितताका सूचना पाएपछि, महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वायरी बोर्ड’ गठन गरिएको थियो ।
प्रारम्भिक जाँचमा केही सैनिक अधिकारीहरूको संलग्नता देखिएपछि, उनीहरूलाई सैनिक प्रहरी गणको हिरासतमा राखेर थप छानबिन गरिएको थियो ।








