बारपाकको दलित बस्ती : घरधुरी २१, शौचालय एक

गोरखा । दिपासा बिक (१८ महिने सुत्केरी) हरेक दिन बिहानको ३–४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छिन् । तीस वर्षकी उनीसँगै छरछिमेकका अन्य छोरी बुहारीहरू कोही एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन् ।

बारपाक सुलिकोट गाउँपालिका वडा नं–२ दलित बस्तीका महिलाहरू यसरी मध्यरातमा शौचालय धाउनुपर्ने कारण चाहीँ, ‘घरधुरी २१, शौचालय एक’ भएर हो ।

तुलनात्मक रुपमा सम्पन्न बारपाकको पुछारमा रहेको दलित बस्ती सबै हिसाबले पिछडिएको छ । २०७२ सालको विनाशकारी भूकम्प गएको १० वर्ष बितिसक्दा पनि यहाँका बासिन्दा अझै त्रिपालभित्र बस्न विवश छन् ।

दलित बस्तीको मुख्य समस्या शौचालय हो । २१ घरधुरी रहेको दलित बस्तीमा जम्मा एउटा शौचालय छ । त्यो पनि जीर्ण । राम्रोसँग ढोका पनि नलाग्ने ।

सिङ्गो दलित बस्तीलाई शौचालयको समस्याले पिरोलेको अर्का स्थानीय दिपासा बिक गुनासो गर्छिन् । ‘सरकारले हामीलाई घर बनाइदिन्छौँ, जग्गा दिन्छौँ भनेर १० वर्षअघि यहाँ ल्यायो । हामीले हाम्रो पुरानो घर घडेरीको लालपुर्जा पनि सरकारलाई दिइसक्यौँ तर, के गर्नु अहिलेसम्म घर त के, गतिलो शौचालय समेत बनाउन सकेका छैनौं’, उनले भनिन्, ‘हामी अहिले सरकारी जग्गामा बस्दै आएका छौँ । आफ्नो हिसाबले शौचालय बनाउन पनि सक्दैनौँ ।’

शौचालय नहुँदा विशेष गरी यहाँका महिला तथा किशोरीहरू समस्यामा छन् । १६ वर्षकी अर्की किशोरी अमृता बिकले घरैपिच्छे शौचालय नहुँदा धेरै दुःख सहनु परेको गुनासो गरिन् । उनी भन्छिन्, ‘सबैभन्दा धेरै समस्या महिनावारीको समयमा हुन्छ । एउटा मात्र शौचालय छ, बिहान बेलुका धुँइचो लाग्छ । राती पनि जाँडरक्सी खाएका केटाहरूले धेरै फोहोर गर्दिन्छन् ।’ व्यवस्थित शौचालय नहुँदा बस्तीका मानिसले खुल्ला दिसापिसाव गर्न बाध्य रहेको उहाँको भनाइ छ ।

एक्काइस घरधुरीका ५० भन्दा धेरै व्यक्तिले एउटै शौचालय प्रयोग गर्दा बस्तीमा बेलाबखत सरुवा रोग समेत फैलिने गरेको छ । स्थानीय मङ्गलबहादुर सुनारका अनुसार बस्तीमा हैजा, ज्वरो, झाडापखाला, रुघाखोकी लगायतका सरुवा रोगहरू फैलिरहन्छ । ‘यहाँ त सबैलाई कोरोना आए कोरोना, भाइरल ज्वरो आए भाइरल ज्वरो, डेंगी आए सबैलाई डेंगी हुने हो’, उनले भने, ‘सबैले एउटै शौचालय प्रयोग गर्दा गर्मी समयमा सजिलै रोग फैलन्छ ।’ उनका अनुसार कोभिड महामारीको समयमा मात्र बस्तीका पाँच जनाको मृत्यु भएको थियो ।

आफूहरू पोहोर मैलामा बसेका कारण सामाजिक रुपमा अपहेलित हुनु परेको अर्की स्थानीय ५७ वर्षकी मैती सुनार बताउछिन् । उनी भन्छिन्, ‘भेदभाव किन नहोस्, सबैको ठुल्ठूला महल छन्, सफा आँगन ट्वाइलेट छ । हामी भने यस्तो फोहोरमा बस्छौँ । हेलाहोचो भैहाल्छ नि ।’ बारपाकको सौन्दर्यमा मन्त्रमुग्ध हुने जो कोहीले त्यही मुनि खोल्साको छेउको दलित बस्तीमा भने नजर लाउन छुटाइरहेका हुन्छन् ।

२०७२ साल वैशाख १२ गते ११ः५६ बजे बारपाक केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टरको भूकम्पले यहाँका एघार सय घरधुरी क्षणभरमै ढले । गाउँका ७२ जनाको मृत्यु भयो ।

बाँचेकाहरू पनि महिना दिनसम्म चौरमा, बारीका गरामा बास बसे । डाँडागाउँ, गैरीगाउँ, कोटडाँडा टोलका ४१ घरधुरी बिक समुदाय कृषि र पशु कार्यालयको नाउँमा रहेको जग्गामा आएर अस्थायी टहरो बनाएर बसे । १४ घरधुरी फेरि आ–आफ्नै थातथलोमा फर्किए ।

डाँडागाउँ, गैरीगाउँ टोलका २७ घरधुरीको पुरानो थलो पहिरिएर राङरुङखोलासम्म पुग्यो । फर्किन सक्ने अवस्था नभएपछि उनीहरुले आफ्नो घर घडेरीको लालपुर्जा सरकारलाई बुझाए र सट्टापट्टा गरी सोही सरकारी जग्गा आफ्नो नाउँमा ल्याउन पहल थाले ।

पहल गरेको १० वर्ष बितिसक्दा पनि अझै सफल हुन सकेको छैनन् । राज्यको हरेक निकायमा दलित, भूमिहीन समुदायलाई प्राथमिकतामा राखेर सेवा सुविधा दिइन्छ, तर भूकम्पको केन्द्रबिन्दु बारपाककै दलित समुदायको भने भूकम्प गएको पहिलो दिनदेखि १० वर्ष बितिसक्दासम्म टहरोकै बास छ ।

यहाँका दलित समुदायका अगुवा सुक बहादुर बिक दलित समुदायलाई बास माग्दै ८६ पटक सिंहदरबार धाएको बताउछन् । ‘मैले बुझेअनुसार हामीलाई अन्याय भएको राजनीतिक प्रतिशोधले हो’, उनी भन्छन्, ‘यो दलित बस्तीलाई पुनस्र्थापना गर्ने लडाइँ १० वर्ष भइसक्यो, प्रगति छैन । एउटा पार्टी सरकारमा आउँदा जिल्लासम्म पत्राचार गर्छ । फेरि अर्को पार्टीको सरकार आउँछ, अनि सबै फाइल गायब बनाइदिन्छन् ।’ पूर्व सहमति अनुसार यहाँको ६ रोपनी १० आना जग्गा २१ घरधुरीका नाममा लालपुर्जा दिनुपर्ने अर्का अगुवा दलित उत्तम बिक बताउछन् ।

गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट सो जग्गा दलित समुदायको नाममा दिलाउन जति प्रयास गर्दा पनि नसकेकाले कुनै वैकल्पिक ठाउँमा व्यवस्था गर्न बरु सजिलो हुने देखिएको बताउछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twenty =