विनोद चौधरीले राखे विदेशमा बैंक शाखा खोल्न दिनुपर्ने प्रस्ताव

काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले नेपालका बैंक र वित्तीय संस्थाहरुलाई विदेशमा शाखा खोल्न अनुमति दिनुपर्ने प्रस्ताव राखेका छन् ।

बिहीवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बाफिया विधेयकको दफाबार छलफल गर्दै सांसद चौधरीले बैंकहरुलाई विदेशमा शाखा खोल्नको आवश्यकता औंल्याए । उनले यसमा समेटिएका प्रावधानलाई पुनःलेखन गरेर नयाँ दृष्टिकोणबाट पुनरावलोकन गर्नुपर्ने बताए ।

‘बाफिया ड्राफ्ट दुई वर्षदेखि राखिएको छ । अहिलेको अर्थतन्त्र र बजारको अवस्थालाई हेरेर यसलाई फिर्ता पठाएर नयाँ दृष्टिकोणबाट पुनःड्राफ्ट गर्नुपर्छ,’ चौधरीले बैठकमा भने ।

सांसद चौधरीका अनुसार, नेपाली बैंकलाई अस्टेलिया, मलेसिया जस्ता स्थानमा शाखा खोल्न अनुमति दिनु नेपालका बैंकहरूको अन्तर्राष्ट्रिय विस्तारमा मद्दत पुग्ने छ । उनले भने, ‘नेपाली पुँजी नेपाली बैंकले संकलन गर्न नपाउनु भनेको कस्तो स्थिति हो? हामीलाई धेरै नेपाली विदेशमा छन्, तिनीहरूलाई सहजतासाथ हाम्रो बैंकबाट सेवा लिन दिनुपर्छ ।’

चौधरीले नेपालको अर्थतन्त्रको वर्तमान स्थिति पनि चिन्ता व्यक्त गर्दै भने, ‘अर्थतन्त्रको गति अहिले सुस्त छ । बैंकहरूसँग धेरै पैसा राखिएको छ, तर त्यो लगानीमा परिणत हुन सकेको छैन। उद्योगी र बैंकर्सको मनोबल पनि खस्किरहेको छ ।’

उहाँले बैंक र उद्योगका बीचको भ्रम हटाउन आवश्यक भएको बताए । ‘केवल बैंकमा पैसा राख्नाले उद्योगी र लगानीकर्ताले पैसा लिन्छन् भन्ने भ्रमलाई हटाउन जरुरी छ,’ चौधरीले भने ।

सांसद चौधरीले नेपाली बैंकहरूको विदेश विस्तारलाई आर्थिक दृष्टिले सकारात्मक कदमका रुपमा देखेका छन् ।

उनका अनुसार, यसले नेपालको आर्थिक समृद्धिमा नयाँ अवसरहरूको सिर्जना गर्न सक्छ र नेपाली पुँजीलाई आन्तरिक अर्थतन्त्रमा लगानी गर्न प्रोत्साहित गर्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 5 =