‘मुलुकका लागि १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकलाई तीव्र आर्थिक रूपान्तरणको दिशामा लैजान सक्षम, प्रतिबद्ध र परिश्रमी नेतृत्व आवश्यक रहेको बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित गोष्ठीमा बोल्दै नेता आचार्यले देशको समग्र परिवर्तनका लागि अब लोकतन्त्रको लडाइँभन्दा बढी आर्थिक एजेन्डामा केन्द्रित हुनु जरुरी रहेको धारणा राखे । उक्त गोष्ठी नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२ औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको हो ।
‘अहिले देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छ,’ उनले भने, ‘आर्थिक एजेन्डामा काम गर्ने नेतृत्व आवश्यक छ। अब लोकतन्त्रको लडाइँ सकिएको छ । अबको प्रमुख मुद्दा देशलाई तीव्र गतिमा विकासको बाटोमा लैजानु हो ।’
छिमेकी मुलुक भारत र चीन क्रमशः विश्वको तेस्रो र दोस्रो ठुला अर्थतन्त्र बन्दै गइरहेका बेला नेपाल अनावश्यक राजनीतिक बहसमा अल्झिरहनु दुखद रहेको उनले टिप्पणी गरे ।
‘भारत तेस्रो ठुलो अर्थतन्त्र बन्ने प्रक्रियामा छ भने चीन दोस्रोमा पुगिसकेको छ । हामी भने अझै पनि बहसमै अल्झिएका छौँ,’ उनले भने, ‘राष्ट्रियताको रक्षा पनि अब आर्थिक रूपान्तरणसँग गाँसिएको छ ।’
नेता आचार्यले उर्जावान युवाशक्तिको सही उपयोग गर्न नसक्नु नेपालको सबभन्दा ठूलो कमजोरी भएको भन्दै सरकारले रोजगारी सिर्जना र आर्थिक सुधारलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
‘देशको समृद्धिका लागि अब युवाशक्तिलाई विदेशमा श्रमिकका रूपमा होइन, यही देशभित्र उत्पादनशील कार्यमा लगाउन सक्ने नीति ल्याइनु जरुरी छ,’ उनले भने ।








