पर्यटन क्षेत्रका चुनौतीबारे संसदीय समितिलाई जानकारी

काठमाडौं । नेपाल पर्यटन बोर्डले मुलुकको पर्यटन क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलाई जानकारी गराएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले मुलुकको पर्यटनको वर्तमान अवस्था, वार्षिक प्रगति, भावी रणनीति, समस्या र चुनौतीबारे जानकारी दिएका हुन् ।

जोशीले भने, ‘पर्यटन क्षेत्रबाट चालु आर्थिक वर्ष २०८१/८२ मा ९३ करोड ३५ लाख आम्दानी भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ३२ करोड आम्दानी गर्ने लक्ष्य राखेका छौँ ।’

पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले अमेरिका, युरोप, चीन, भारत, बङ्गलादेश, दक्षिण–पूर्व एसिया र मध्यपूर्वका विभिन्न सहरहरूमा गरी २५ अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएको उनले जानकारी दिए ।

ती मेलामा सहभागी तीन सय ३३ भन्दा बढी नेपाली पर्यटन व्यवसायी÷कम्पनीले नेपालको पर्यटन, उत्पादन र सेवाहरूलाई प्रवर्धन गरेका उनको भनाइ छ ।

विदेशस्थित नेपाली दूतावासहरूसँग सहकार्य गर्दै १५ वटा पर्यटकीय गन्तव्य प्रवर्धन कार्यक्रम सञ्चालन गरेको जनाउँदै सिइओ जोशीले यसले नेपालको दिगो पर्यटन विकासमा कूटनीतिक नियोगहरूको भूमिका प्रभावकारी बनाएको विश्वास व्यक्त गरे ।

उनका अनुसार बोर्डले ४५ गन्तव्य स्तरीकरण कार्यक्रमसँगै, घरबास (होमस्टे) व्यवस्थापन, होटल व्यवस्थापन, ट्रेकिङ, र्‍याफ्टिङ, प्रकृति गाइड तालिम, भाषा तालिम, भ्रमणको ‘प्याकेज’ निर्माण र डिजिटल मार्केटिङसम्बन्धी तालिमहरू सञ्चालन गरिसकिएको छ । यससँगै पर्यटन जनशक्ति विकासमा काम गरिरहेको जोशीले बताए ।

नेपालमा आयोजना गरिएका ४० स्थानीय कार्यक्रमअन्तर्गत सांस्कृतिक पर्व, परिकार महोत्सव, साहसिक पर्यटन उत्सवलगायतले आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याएको उनले जानकारी गराए । साथै, कुम्भमेलाका अवसरमा भारतीय पर्यटक लक्षित विशेष प्रचार अभियानहरू सञ्चालन गरिएको थियो ।

सिइओ जोशीले नेपालको पर्यटन विकासमा केही संरचनागत र प्रणालीगत चुनौतीहरू कायम रहेका जानकारी गराए । उनले भने, ‘आधारभूत पूर्वाधारको अभाव, स्पष्ट रणनीति नभएको, गन्तव्य प्रवद्र्धनमा दक्ष जनशक्तिको अभाव, स्वास्थ्य तथा सुरक्षाको चासो, मौसममा आधारित पर्यटन प्रवृत्ति, संस्थागत दिगोपनाको कमजोरी, नीति–निर्माणमा अस्थिरता, गुणस्तरीय उत्पादनको अभावलगायत प्रमुख चुनौतीहरू छन् ।’

अन्तरराष्ट्रियस्तरमा उदीयमान प्रतियोगिता र पर्यटकको बदलिँदो मनोविज्ञानको प्रभावले पर्यटन प्रवद्र्धनमा समस्या भएको जोशीले बताए ।

उनका अनुसार पर्यटन बोर्डले नयाँ दृष्टिकोण प्रस्तुत गर्दै नेपाललाई विश्वको सबैभन्दा अनुभवमूलक र जीवनभर सम्झन लायक गन्तव्यका रूपमा स्थापित गर्ने योजना अघि सारेको छ ।

बोर्डले एसियाली बजारमा माग वृद्धि र परम्परागत बजारको संरक्षण, डिजिटल क्षमतामा वृद्धि, गुणस्तरीय लगानी प्रोत्साहन र गन्तव्य विविधीकरण, पर्यटन उत्पादनको सुधार र नियम सुधार, श्रम, सीप र प्रादेशिक सहभागिता विस्तार, उद्योगको लचिलोपन, उत्पादकत्व र गुणस्तर अभिवृद्धि, वातावरणीय उत्तरदायित्व र दिगोपनाको सुनिश्चितता र प्रदेशहरूको पर्यटन सम्भावना उजागर गर्ने रणनीतिक आधार स्तम्भ अवलम्बन गरेको सिइओ जोशीले जानकारी गराए ।

पर्यटन सडक पूर्वाधार आयोजनाअन्तर्गत काठमाडौँ–पोखरा, नारायणघाट–बुटवल, धुलिखेल–रामेछाप, रसुवा–केरुङ, बुटवल–पाल्पा–पोखरालगायत मार्गहरूमा सुधार गर्नुपर्नेमा उनले जोड दिए ।

हवाई सेवा सुधारमा सीधा अन्तर्राष्ट्रिय उडान, हेलिकप्टर सञ्चालन सहजता, गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अधिकतम प्रयोग र हवाई खेलकुद प्रवद्र्धनको लक्ष्य बोर्डले लिएको छ ।

दीर्घकालीन योजनाअनुसार आगामी वर्षमा नेपालमा वार्षिक २५ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने, १४ लाख रोजगारी सिर्जना गर्ने र दुई दशमलव पाँच खर्ब रुपैयाँको पर्यटन आम्दानी प्राप्त गर्ने लक्ष्य बोर्डले राखेको छ ।

समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन बोर्डले गरिरहेका गतिविधिहरूको प्रशंसा गर्दै मन्त्रालय नीतिगत र संरचनागत सुधारका काममा लागिरहेको बताए ।

नेपालको पर्यटनमा लगानी बढाउनका लागि निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने उल्लेख गर्दै उनले भने, ‘बोर्डका माध्यमबाट निजी क्षेत्रलाई सहजीकरण गर्ने काममा लागिरहेका छौँ । उहाँहरू पनि बोर्डको सहजीकरण बाट विश्वस्त र उत्साहित हुनुहुन्छ ।’

समितिका सदस्यहरू एनपी साउद, उदय शमशेर जबरा, धवल शमशेर राणा, प्रेम सुवाल, भीम आचार्य, शिशिर खनाललगायतले नेपालको पर्यटन प्रवद्र्धनमा देखिएका चुनौतीहरू समाधान गर्न समितिका तर्फबाट सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

समितिका सभापति राजकिशोर यादवले पर्यटन बोर्डले आफ्ना समस्यालाई प्राथमिक करण गरेर ल्याउन आग्रह गर्दै खरिद नियमावली, पूर्वाधार विकास तथा सडक र हवाई यातायात सहज बनाउन सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =