कुलिङ पिरियडमा समिति सभापति र सचिवले अपराध गरे : सांसद श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई कुलिङ पिरियड प्रकरणमा अपराध गरेको आरोप लगाएका छन् ।

बुधवार बसेको समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले उक्त विधेयकमा दुवैजनाको हस्ताक्षर रहेकाले उनीहरू अनभिज्ञ रहेको दाबी स्वीकार्य नहुने बताए ।

‘विधेयकमा सभापति र सचिवको हस्ताक्षर छ,’ श्रेष्ठले भने, ‘त्यसपछि मैले थाहा पाइन भन्न पाइन्छ? सभापतिज्युले चालै नपाई साइन गर्नुभयो भन्न मिल्दैन ।’

श्रेष्ठले खतिवडाले नबुझी होइन, बुझेरै हस्ताक्षर गरेको दाबी गर्दै भने, ‘यो ब्लण्डर मिस्टेक होइन, जानाजान गरिएको अपराध हो ।’

सांसद श्रेष्ठले सभापति खतिवडालाई आफ्नो निर्वाचन क्षेत्रका जनतालाई हेरेर बेलैमा विचार गर्न आग्रह गरे । ‘अहिलेका जनता लाटो छैनन्,’ भन्दै उनले चेतावनी दिँदै भने, ‘तपाईंले मन्त्रीलाई छक्याउनुभएको हुन सक्छ ।’

उनले समिति सचिव सुरजकुमार दुराको पनि नैतिक हैसियत गुमेको टिप्पणी गर्दै भने, ‘दुराजी, तपाईं राज्य व्यवस्था समितिको सचिव बन्ने नैतिक अधिकार गुमाइसक्नुभएको छ । तपाईंलाई अब मान्न सकिन्न ।’

श्रेष्ठले समितिमाथिको विश्वासको आधार नै समाप्त भएको भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + thirteen =