कुलिङ पिरियडमा भएको जालझेलको जिम्मा सभामुखले लिनुपर्छ : माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले कुलिङ पिरियडसम्बन्धी विधेयकमा भएको जालझेलको नैतिक जिम्मेवारी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले लिनुपर्ने माग गरेको छ ।
बुधवार पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले समितिमा भएको सहमति विपरीत विधेयक संसदमा पेस गरी सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि गम्भीर प्रश्न उठ्ने काम भएको बताए ।
प्रवक्ता सापकोटाले घटनालाई गम्भीर राजनीतिक, संवैधानिक, कानुनी र नैतिक संकटको रूपमा चित्रण गर्दै भने, ‘समितिमा पारित भइसकेको विषय सदनमा जाँदा कसरी फरक बनाइयो? परस्पर विरोधी प्रावधान कसले थप्यो? यो सुनियोजित जालसाझी हो, केवल एकाध व्यक्तिको काम होइन ।’
उनले यो घटनाले संसदको आत्मा, संविधानको मर्म र सुशासनप्रति जनताको भरोसामाथि चोट पुर्याएको बताए । माओवादीको ठहरमा यो कार्यले संसदीय मूल्य मान्यतामाथि ठाडो चुनौती दिएको छ ।
‘यो केवल त्रुटि होइन, सुनियोजित धृष्टता हो,’ सापकोटाले भने, ‘यस्तो गम्भीर अपराधको यथासक्य छिटो र निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्छ ।’
माओवादी केन्द्रले यस घटनामा सभामुखले पनि जिम्मेवारीबाट पन्छिन नमिल्ने उल्लेख गर्दै नैतिकताको आधारमा संसदको नेतृत्वले नै यसको जिम्मा लिनुपर्ने धारणा राखेको छ ।
त्यस्तै, प्रवक्ता सापकोटाले विद्यालय शिक्षा विधेयक शिक्षक महासंघसँग भएको सहमति अनुसार नै पारित गर्नुपर्ने माग पनि गरेका छन् ।
उनले आन्दोलनरत शिक्षकहरूसँग गरिएका सहमति कार्यान्वयन नगरी विधेयक अघि बढाइए नयाँ अस्थिरता जन्मन सक्ने चेतावनी दिएका छन् ।








