नयाँ गन्तव्य खोजेर हिँड्ने पर्यटकहरु बढे : दीपकराज जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले नयाँ गन्तव्य खोजेर हिँड्ने पर्यटकको संख्या तीव्ररूपमा बढिरहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले पर्यटन प्रवृत्तिमा देखिएको यो परिवर्तनलाई सरकार र बोर्डले पनि प्राथमिकतामा राखेको जानकारी दिए ।

‘अहिले सोलो ट्राभल डेस्टिनेसन र नयाँ ठाउँको खोजी गर्ने टुरिजम ट्रेन्ड एकदमै बढेको छ,’ जोशीले भने, ‘यो प्रवृत्तिलाई बोर्डले क्याचअप गरिरहेको छ । सरकार पनि योजनाहरु त्यसैअनुसार अघि बढाइरहेको छ ।’

उनले हिमाली क्षेत्र, धार्मिक स्थल र कम ख्यातिप्राप्त गन्तव्यहरूलाई प्रवद्र्धनमा ल्याउने योजनामा जोड दिइएको बताए। प्रविधिको प्रयोग र होटलहरूको गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता पनि जोशीले औंल्याए ।

‘केही होटल खुलेका छन्, तर गुणस्तर अझै बढाउनुपर्छ,’ उनले भने, ‘टेक्नोलोजीको एडप्शन पनि बढाउनु जरुरी छ, किनभने आजको ट्राभलर डिजिटलमा निर्भर हुन्छ ।’

जोशीले नयाँ गन्तव्यको विकास र पर्यटन पूर्वाधार विस्तारमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, अबको पर्यटन रणनीति सस्टेनेबल, इनोभेटिभ र टेक–ड्राइभन हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nineteen =