एमालेले माग्यो सभापति खतिवडा र सचिवको राजीनामा

काठमाडौं । निजामती कर्मचारी विधेयकमा भएको कुलिङ पिरियडको चलखेल प्रकरणमा नेकपा एमालेले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराको राजीनामा माग गरेको छ ।
बुधबार बसेको समितिको बैठकमा बोल्दै एमाले सांसद पदम गिरीले नैतिकताको आधारमा दुबै जनाले तत्काल राजीनामा दिनुपर्ने धारणा राखे । उनले भने, ‘संसदलाई गुमराहमा राखेर समिति निर्णयको विपरीत प्रतिवेदन पठाउनु इतिहासकै लज्जास्पद कार्य हो ।’
निजामती कर्मचारी सेवा ऐन अन्तर्गत सेवानिवृत्त कर्मचारीले दुई वर्षसम्म सरकारी जिम्मेवारी लिन नपाउने (कुलिङ पिरियड) व्यवस्था समितिले सर्वसम्मतिले पारित गरेको स्मरण गराउँदै गिरीले त्यसैको विपरीत ढंगमा प्रतिवेदन पेस भएको बताए ।
‘समितिमा एकमतले निर्णय भएको थियो, तर त्यसलाई छल्दै सभापति र सचिवले मन्त्रालयबाट आएको जस्तो छ त्यस्तै गरी पठाउनु भयो,’ गिरीको आरोप छ, ‘यो गैरजिम्मेवार कार्य हो । यस्तो आपराधिक प्रवृत्तिको राजनीतिमा स्थान हुँदैन ।’
उनले सभापति खतिवडा र सचिव दुराले समितिको निर्णयमा हस्तक्षेप गर्दै सांसद र सम्पूर्ण समितिलाई गुमराहमा पारेको आरोप लगाए । ‘सभापति र सचिव दुवैको हस्ताक्षर भएको प्रतिवेदनमा समितिको निर्णय विपरित कुरा समावेश गरिएको छ,’ उनले भने, ‘यो समितिको अपमान हो। यस्तो लज्जास्पद कार्यको कल्पना गर्नै सकिँदैन ।’
गिरीले दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै भने, ‘कसले के भन्यो भन्ने थाहा पाउनु सभापति र सचिवको काम हो । जिम्मेवारीबाट पन्छिन मिल्दैन ।’








