पाल्हीनन्दनमा ४० लाखभन्दा बढीको चिनी र पाँच लाखको धान बीउ नष्ट

पाल्हीनन्दन । पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयले चार वर्षअघि बरामद गरिएको चिनी नष्ट गरेको छ । अखाद्य ठहर भएको करिब ४० लाख १२ हजार रुपैयाँ बराबरको चिनी सोमबार झरही नदी किनारमा खाल्टो खनेर नष्ट गरिएको हो ।
भन्सार कार्यालय प्रमुख विकास उपाध्यायका अनुसार आर्थिक वर्ष २०७८/७९ मा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको ६२ हजार ७ सय किलोग्राम चिनी नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न स्थानबाट बरामद गरेका थिए ।
बरामद गरिएपछि तत्काल नष्ट गर्न नसकिएको कारण बजेट अभाव रहेको बताइएको छ । ‘त्यतिबेला बजेट अभावका कारण तत्काल नष्ट गर्न सकिएन,’ प्रमुख उपाध्यायले बताए ।
खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाले चिनी खान अयोग्य (अखाद्य) भएको प्रतिवेदन दिएपछि भन्सार कार्यालयले लिलाम प्रक्रिया नगरी नष्ट गर्ने निर्णय गरेको हो ।
साथै, सोमबारकै दिन भारतबाट अवैध रूपमा ल्याइएको ७० बोरा धानको बीउ, जसको मूल्य करिब रु ५ लाख ८८ हजार बराबर पर्छ, सोही स्थानमा नष्ट गरिएको भन्सार कार्यालयका नायब सुब्बा राजेन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए ।
भन्सारका अनुसार भारतबाट चोरीपैठारी गरी ल्याइएका खाद्य र कृषि वस्तुहरू गुणस्तरहीन र स्वास्थ्य तथा उत्पादन प्रणालीमा असर पु¥याउने देखिएकोले कानुनअनुसार नष्ट गरिएको हो ।








