रुपन्देहीबाट चुनाव लड्ने संकेत गर्दै सागर ढकालले भने– ‘सफा चट् क्लिन स्विप गर्ने हो’

काठमाडौं । सागर ढकालले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने संकेत गरेका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको स्टाटसमार्फत ढकालले उम्मेदवारी दिने संकेत गरेका छन् ।

उनले सत्तारूढ दलहरू—नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रलाई ‘राणा शासन’को संज्ञा दिएका छन् ।

‘नेपालको इतिहास रच्न तयार हुनुहुन्छ ?’ भन्ने प्रश्नसहित सुरु भएको स्टाटसमा ढकालले रुपन्देही–३ मा करिब ९० हजार मतदाता रहेको उल्लेख गर्दै आफूले त्यसमा ६२ हजार मत ल्याएर ‘इतिहास बनाउने’ अठोट गरेका छन् ।

सन्देशमा ढकालले हालको राजनीतिक संरचनालाई जनताविरोधी भन्दै आलोचना गरेका छन् । उनले भनेका छन्, ‘कांग्रेस, एमाले, माओवादी एउटै हुन् । यिनको राणा शासनको अन्त्य ८४ मा गर्नको लागि सुरुवात यहाँबाट गर्नुपर्छ ।’

ढकालको स्टाटसमा मतदातालाई आवेगपूर्ण शैलीमा सम्बोधन गरिएको छ । ‘यो रुपन्देही–३ को मात्र चुनाव होइन, देशकै चुनाव हो,’ भन्दै ढकालले विगतको चुनावमा जनताले नयाँ अनुहारहरू रोजे जस्तै फेरि त्यो काम दोहोर्याउन अपिल गरेका छन् ।

उनले लेखेका छन्, ‘नेपाली जनताले जित्ने मात्र होइन, सफा चट् क्लिन स्विप गर्ने हो, सफा चट् ।’

उनको स्टाटसमा सत्ता गठबन्धनको आलोचना गर्दै नारायणगढ–बुटवल सडकखण्डमा ‘जनतामाथि भएको अत्याचार’ को बदला लिनुपर्ने पनि उल्लेख गरिएको छ । ढकाल लेख्छन्, ‘यो चुनाव जनता भर्सेस राणा शासन हो । दुई तिहाइ सरकारले गरेका अन्यायको जवाफ दिनुपर्छ ।’

सागर ढकालले यसअघिको आमनिर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा गरेका थिए । त्यसबेला ढकाल पराजित भएका थिए ।

पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय रहेका ढकालले यसपटक रुपन्देही–३ बाट चुनाव लड्ने तयारी गरेको चर्चा चलिरहेको छ । अहिलेको स्टाटसले पनि त्यही सम्भावना थप बलियो बनाएको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =