गत वर्षको बाढीले ठूलो पाठ सिकायो, आवश्यक पूर्वतयारी गर्दैछौँ : मेयर महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गत वर्ष असोजमा आएको बाढीले ठूलो पाठ सिकाएको बताउँदै विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि महानगरले थप तयारी गरिरहेको बताएका छन् ।

मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले प्राकृतिक विपद्बाट नगरबासीलाई सुरक्षित राख्न सुरक्षाकर्मीहरुलाई तालिम दिइएको र आवश्यक उपकरण व्यवस्थापनका काम अघि बढाइएको जानकारी दिए ।

उहाँले भने, ‘गत वर्षको असोजमा गएको बाढीबाट हामीले ठूलो पाठ सिक्यौं। नगरबासीलाई सुरक्षित राख्नका लागि अझै धेरै काम गर्न बाँकी छ भन्ने बुझ्यौं। त्यसअनुसार तालिमदेखि उपकरण व्यवस्थासम्मको काम अघि बढाएका छौं ।’

महर्जनका अनुसार ललितपुर महानगरपालिका विपद् व्यवस्थापनको सवालमा मुलुकका ७५३ स्थानीय तहहरुमध्ये अब्बल ठानिए पनि गत वर्ष चाहिँ पूर्वतयारी कमजोर भएका कारण तत्कालीन विपद् प्रतिकार्यमा सफल हुन नसकेको स्वीकारोक्ति उनले दिए ।

‘विपद् कहिल्यै रोकिने रहेनछ, त्यसैले निरन्तर तालिम र तयारी चाहिन्छ,’ उनले भने, ‘हामी उपकरण र साधन अपुग भएको क्षेत्रमा पनि काम गरिरहेका छौं ।’

महानगरले विपद् प्रतिकार्यमा सुरक्षाकर्मी तथा सरोकारवालालाई नियमित प्रशिक्षण दिने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र प्राविधिक पूर्वाधारलाई सुदृढ बनाउने योजनासमेत अघि सारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + ten =