नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गरेकी छन् ।

राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन, एफएओको रोममा जारी ४४ औँ महासभाअन्तर्गत आज आयोजित कृषि तथा खाद्य प्रणालीसम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रमा लगानी गरेर नेपालका मौलिक एवं विशिष्ट उत्पादनहरूमार्फत विश्व बजारबाट लाभ लिन आग्रह गरिन् ।

मन्त्री डा राणाले भनिन्, ‘कृषिमा निजी क्षेत्रको संलग्नता बढाउने सरकारको नीति बमोजिम ठूला निजी कम्पनीहरूले कृषिमा लगानी गर्न थालेका पनि छन् । तर पनि ठूलो लगानी तथा कृषिमा आधुनिकीकरणको अभावमा पर्याप्त सम्भावनाका बाबजुद पनि नेपालले बृहत् मात्रामा कृषि उपजहरू निर्यात गर्न सकिरहेको छैन । हामीलाई यस क्षेत्रमा ठूलो वैदेशिक लगानीको आवश्यकता छ ।’

मन्त्री डा राणाले अन्तर्राष्ट्रिय सहयोग एवं सहकार्यबाट कृषि क्षेत्रलाई नवप्रवर्तन, कृषिमा एआई को प्रयोग, खेती गर्न ड्रोन आदि प्रविधिको प्रयोग गरी कृषिमा आधुनिकीकरण र वैज्ञानिकीकरणका साथ आकर्षक बनाउन नेपाल सरकार लागिपरेको बताइन् ।

उनले नेपालमा कृषि पेशा गर्ने व्यक्ति अर्थात् किसानलाई अहिले पनि हेय दृष्टिले हेर्ने गरिएकाले यस क्षेत्रको आधुनिकीकरण गरी समयानुकूल विकास गरेर निर्यातमुखी बनाउन नसकिएको बताइन् । उनले कृषिलाई मर्यादित र आकर्षक पेशा बनाउनुपर्ने धारणा पनि राखिन् ।

संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको पूर्व सभापति मन्त्री डा राणाले भनिन्, ‘कृषकहरूको सामाजिक छवि अहिले पनि बदल्न सकिएको छैन । म कृषि समितिको सभापति बन्दा पनि कतिपयले किन यो समिति रोजेको पनि भनेको सम्झना छ । तर मैले नै सो समिति रोजेकी थिएँ ।’

नेपालको ८३ प्रतिशत भूभाग पहाड वा हिमाली क्षेत्र रहेको र जहाँ अधिकांश जमिन स–साना टुक्रामा अवस्थित रहेकोले पनि कृषि कार्य अत्यन्त कठिन रहेको भए पनि यसलाई लामो समयदेखि आत्मनिर्भर अर्थतन्त्र र गरिबीसँग जोडिएको बताइन् ।

नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो आयस्रोत बनेको विप्रेषणले नेपालको कुल गार्हस्थ उत्पादनमा करिब ३५ प्रतिशत योगदान रहेको र कृषिको योगदान दोस्रो स्थानमा अर्थात् करिब २३ प्रतिशत रहेको बताउँदै मन्त्री डा राणाले कृषि क्षेत्र अझै पनि करिब ८० प्रतिशत जनसंख्याको रोजगारीको माध्यम बनेको चर्चा गरिन्।

पछिल्लो समय जलवायुजन्य दुष्प्रभावका कारण कृषि क्षेत्रमा नराम्रो प्रभाव पर्दै गएको र नेपालका लागि यो गम्भीर चिन्ताको विषय भएको उनले बताइन् ।

गाउँ गाउँमा युवा र पुरुष वर्गको अनुपस्थितिका कारण खेतीमा जंगली जनावरहरूको आक्रमण बढ्दा किसानहरू मर्कामा पर्नुका साथै मानव वन्यजन्तुबिच द्वन्द्व पनि बढेको उनले उल्लेख गरिन् । मन्त्री डा राणाले कृषिलाई शिक्षा, पोषण र स्वास्थ्यसँग समन्वय गरेर अघि बढाउने प्रयास सफल भइरहेको पनि स्पष्ट गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =