काँग्रेस केन्द्रीय समितिमा नेताहरू : सरकार प्रभावकारी हुन सकेन, सात बुँदे सहमति पनि पालना भएन

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरूले सरकार प्रभावकारी हुन नसकेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् ।

केन्द्रीय समितिको मङ्गलवारको बैठकमा बोल्ने केन्द्रीय समितिका सदस्यहरूले सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै सरकारको कार्यक्षमता माथि नै प्रश्न गरेका हुन् ।

उनीहरुले सरकार सात बुँदै सहमतिअनुसार अघि बढ्न नसकेको काँग्रेसका केन्द्रीय सदस्यहरूको निष्कर्ष रहेको छ । संविधान संशोधनको मुद्दामा अहिले संशोधन भइरहेको भएपनि अन्य सवालमा सरकारले प्रभावकारी बन्न नसकेको काँग्रेस नेताहरूको निष्कर्ष छ । उनीहरुले सरकारले गरेका कमजोरीहरूलाई सच्याउन सुझाव दिएका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सत्ता गठबन्धनभित्र काँग्रेसका पहिचान कम देखिएको भन्दै प्रश्न उठेको बताए ।

उनले यथास्थितिबाट काँग्रेसले गति लिन नसक्ने बताए । पार्टीलाई नेताप्रधान नभई नीतिप्रधान बनाउनुपर्ने माग गरे ।

उनले भने ‘सत्ता गठबन्धनभित्र नेपाली काँग्रेसको पहिचान देखिन कम भयो भन्ने छ । त्यो अभिव्यक्ति केन्द्रीय समितिमा पनि आएको छ । यथास्थितिबाट काँग्रेसले गति लिन सक्दैन । पार्टीलाई नेताप्रधान नभई नीतिप्रधान बनाउनुपर्छ ।’

काँग्रेस केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको प्रभावकारिता बढ्नुपर्ने र मेहनत अझ बढाउनुपर्ने विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेको जानकारी दिए । उनले बजेटको सन्दर्भमा देखिएका समस्यालाई पार्टीले गम्भीरताकासाथ लिएर छलफल गर्नुपर्ने सुझाव आएको बताए । सरकारमा उपस्थिति प्रभावकारी हुनुपर्ने सुझाव आएको बताए ।

उनले भने ‘सरकारको प्रभावकारिता बढ्नुपयो,मेहनत गर्नुपर्छ । अझ प्रभावकारीताका साथ काम गर्नुपर्छ । कतिपय बजेटको प्रक्रियामा समस्याहरू देखिएका छन्, प्रदेश र केन्द्रमा । यसमा पार्टीले गम्भीरताकासाथ लिनुपर्छ । पार्टीले विशेष सरोकार राखेर छलफल गर्ने र निर्देशन दिने काम गर्नुपर्छ । सरकारमा उपस्थिति प्रभावकारी हुनुपर्छ । कुनैपनि त्रुटि वा कमजोरी हाम्रो तर्फबाट रहनु हुँदैन भन्ने चासो र चिन्ता छ ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सरकार राम्रो र चुस्तसँग चल्नुपर्छ भन्ने धारणा आइरहेको बताए । सरकारका कामका बारेमा टीकाटिप्पणी हुनु स्वाभाविक भएको पनि बताए । सरकारमा रहेको पार्टीले सरकारका सन्दर्भमा आफ्ना विषय र अभिव्यक्ति राख्ने क्रममा सरकारका विषय आउने तर यसलाई नै लिएर सरकार परिवर्तन भइहाल्छ भन्ने नहुने बताए ।

उनले भने ‘सरकार राम्रो र चुस्तसँग चल्नुपर्छ भन्ने धारणा आइरहेको छ । सरकारका कामका बारेमा टीकाटिप्पणी हुनु स्वाभाविक हो । सरकारमा रहेको पार्टीले सरकारका सन्दर्भमा आफ्ना विषय र अभिव्यक्ति राख्ने क्रममा सरकारका विषय आउँछन्, जोडिन्छन् । यति भन्दैमा सरकार नै परिवर्तन हुन्छ भन्ने विषय होइन ।’

केन्द्रीय सदस्य नारायणप्रकाश साउदले सात बुँदे कार्यक्रमलाई आधार बनाएर सरकार चल्नुपर्ने बताए । सात बुँदे कार्यक्रम सरकार गठनको औचित्य, भावी कार्यदिशा र यसले मुलुकलार्ई रूपान्तरणका लागि निर्वाह गर्नुपर्ने भूमिकासँग सम्बन्धित रहेको बताए । सरकारले सरकार प्रभावकारी रुपमा काम गर्नुपर्ने बताए ।

उनले भने ‘सात बुँदे कार्यक्रमलाई आधार बनाएर सरकार चल्नुपर्छ भन्दै आएका छौँ । सात बुँदे भन्ने बित्तिकै यो सरकार गठनको औचित्य, भावी कार्यदिशा र यसले मुलुकलार्ई रूपान्तरणका लागि निर्वाह गर्नुपर्ने भूमिकासँग सम्बन्धित हुन्छ । यसमा संविधान संशोधन, सुशासन, भ्रष्टाचार निवारणका कुराहरू थुप्रै मुद्दाहरू छन् । यसमा सरकार प्रभावकारी रुपमा काम गर्नुपर्छ भन्नेकुरा पार्टीभित्र राख्दै आएका छौँ ।’

काँग्रेस केन्द्रीय सदस्य राजन केसीले सात बुँदेअन्तर्गतको संविधान संशोधनको मुद्दाबारे गृहकार्य भइरहेको बताए । सरकारबाट भएका कमी, कमजोरी सच्याउँदै अघि बढ्नुको विकल्प नरहेको बताए ।

उनले भने ‘सात बुँदेमा हाम्रो संविधान संशोधनको मुद्दा पनि थियो । त्यो मुद्दामा गृहकार्य भइरहेको छ । अन्य सवालमा काम भइरहेको छ । अब काम गर्दै जाँदा कतिपय कमी, कमजोरी भएका होलान् । त्यसलाई सच्याएर लैजाने हो । लोकतन्त्रमा पहिलो र दोस्रो हुने पार्टी स्थिर सरकार दिनका लागि अभ्यास गरिएको छ । स्थिर सरकारले नै मुलुकको विकास गति अघि बढ्छ । संविधान संशोधनका लागि गृहकार्य भइरहेको छ ।’

उनले लोकतन्त्रमा पहिलो र दोस्रो हुने पार्टी स्थिर सरकार दिनका लागि अभ्यास गरिएको बताए । स्थिर सरकारले नै मुलुकको विकास गति अघि बढाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =