मुलुकमा सुशासन र विधिको शासन कायम गर्न सरकार प्रतिवद्ध : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालय पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले कानुनको कार्यान्वयन, सुशासन र विधिको शासनलाई प्रभावकारी बनाउन गृह मन्त्रालय मातहतका निकायहरु सक्रिय रहेको बताएका हुन् ।

उनले सबै सुरक्षा निकाय न्यूनतम स्रोत साधनमा सीमित भए पनि अपराध नियन्त्रण, अनुसन्धान तथा अभियोजनका कार्यमा दत्तचित्त भएर लागिरहेको बताए । लेखकले अगामी आर्थिक वर्षका लागि बजेटमा दुवै सुरक्षा निकायको पूर्वाधार विकासका ४० करोड रुपैयाँ विनियोजन गरिएको समेत बताए । संघ, प्रदेश र स्थानीय तहको आपसी सहकार्यमा सुरक्षा निकायका भौतिक पूर्वाधार विकास गर्न साझेदारीमा काम गर्ने योजना अघि बढाएको उनको भनाइ छ ।

उनले भने ‘मुलुकमा शान्ती सुरक्षा कायम गर्ने, विधिको शासन स्थापित गर्ने, सुशासनको सुनिश्चितता गर्ने र संविधान र कानुनको कार्यान्वयन गर्ने गृह मन्त्रालयको दायित्व हो । मुलुकमा रहेका सबै सुरक्षा निकायहरु मुलुकमा शान्ती सुरक्षा कायम गर्नका लागि, अपराध नियन्त्रण गर्नका लागि, अनुसन्धान र अभियोजनमा सहयोग गर्नका लागि र कानुनको कार्यान्वयनका निमित्त दत्तचित्त भएर काम गरिराखेका छन् । दुवै सुरक्षा निकायहरु न्यूनतम स्रोत र साधनमा काम गरिराखेका छन् । हामी अगामी आर्थिक वर्षको बजेटमा पनि बजेटको सीमाभित्र रहेर दुवै सुरक्षा निकायका पूर्वाधार विकासका लागि प्रस्ताव गरेका छौँ । तीनवटै तहको लागत साझेदारीमा पूर्वाधार निर्माण गर्नेगरी ४० करोड रुपैयाँ समेत विनियोजन गरिएको छ । या पल्ट एउटा नयाँ नीति हामीले अवलम्बन गरेका छौँ । तीनवटै तहका सरकारहरूको आपसी सहकार्यमा भौतिक पूर्वाधारको विकास गर्न सकिन्छ कि भनेर हामीले साँझदारीमा काम गर्ने योजना अगाडि सारेका छौँ । यो हाम्रो पहिलो अभ्यास पनि हो ।’

उनले प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकहरू छलफलका क्रममा रहेको उल्लेख गर्दै ती विधेयकहरू पास भइसकेपछि सुरक्षा निकायहरूलाई थप व्यवस्थित गर्न सकिने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + three =