विपद्को जोखिम रोक्न सरकार तयारी अवस्थामा छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि सरकार तयारी अवस्थामा रहेको बताएका छन् ।
मंगलवार सिंहदरबारमा विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोगसम्बन्धी वायुसेवा सञ्चालक संघ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच भएको सम्झौता समारोहमा बोल्दै गृहमन्त्री लेखकले नेपालमा विपद्को जोखिम उच्च रहेको उल्लेख गरे ।
‘अहिले हामी मनसुनको प्रारम्भिक चरणमा छौं,’ उनले भने, ‘विगतका अनुभवले देखाएको छ– विपद्बाट ठूलो जनधनको क्षति हुन्छ । नागरिक र सम्पत्तिको सुरक्षा गर्न हामी तयारी अवस्थामा बस्नुपर्छ ।’
सम्झौताअनुसार काठमाडौं उपत्यकाभित्र कुनै पनि स्थानमा जोखिम उत्पन्न भएमा वायुसेवा सञ्चालक संघले हेलिकप्टरमार्फत निःशुल्क उद्धार सेवा उपलब्ध गराउनेछ । उपत्यका बाहिर भने आवश्यक परेको खण्डमा अपरेशन कस्टका आधारमा उद्धार गरिने समझदारी भएको छ ।
गृहमन्त्री लेखकले सम्झौतालाई महत्वपूर्ण कदम भन्दै सराहना गरे । ‘तपाईंहरूले ठूलो सार्वजनिक दायित्व निर्वाह गर्नुभएको छ,’ उनले भने ।
खोज तथा उद्धार कार्यमा संलग्न रहने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई गृह मन्त्रालयले आवश्यक व्यवस्थापन गर्ने जानकारी पनि उनले दिए ।








