कुलिङ पिरियड जालझेलबारे सांसद थानी– कार्यपालिका र व्यवस्थापिकाबीच द्वन्द्व नहोस्

काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कार्यपालिका र व्यवस्थापिकाबीच द्वन्द्व सिर्जना हुनु नहुनेमा जोड दिँदै कुलिङ पिरियडसम्बन्धी विधेयकमा गरिएको चलखेल गम्भीर विषय भएको बताएका छन् ।
मंगलवार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद थानीले सभामुख देवराज घिमिरेलाई यस विषयमा गम्भीर बन्न आग्रह गर्दै भने, ‘कुलिङ पिरियड २ वर्ष हुने भनेर सर्वसम्मतिले पारित गरेका हौँ । हाउसमा पेश गर्नुपर्ने बेलामा गलत लेखियो। माथिको दफा ४ लाई ५ को कले काटिएको अवस्था रहेछ ।’
उनले यो घटनाले कार्यपालिका र व्यवस्थापिकाबीच द्वन्द्वको अवस्था निम्त्याएको बताए । ‘हामीले संसदमा ऐन बनाउने कुरामा बाधा नपुग्ने गरी जानुपर्छ भनेका छौँ,’ उनले भने, ‘सांसदहरूको भावना र निर्णयमाथि चलखेल हुनु संसदको अपमान हो ।’
थानीका अनुसार समितिको सचिवालयले कानून तथा संघीय मामिला मन्त्रालयसँग परामर्शका लागि छलफल गर्ने क्रममा नै तीनै निकायबाट षड्यन्त्रपूर्ण चलखेल भएको हो । उनले दोषीमाथि सख्त कारबाहीको माग गर्दै भने, ‘चलखेल गर्नेलाई सख्त कारबाही गर्नुपर्छ । संसदलाई कमजोर बनाउनु हुँदैन ।’
सरकारले फागुन २०८० मा संसदमा दर्ता गरेको विधेयकमा उल्लेख गरिएको थियो— ‘संवैधानिक, कूटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेक’का पदमा सेवा निवृत्त भएको मितिदेखि दुई वर्षसम्म काम गर्न नमिल्ने ।
यो व्यवस्था मूलतः निजी तथा गैरसरकारी क्षेत्रमा नियुक्ति लिने विषयमा केन्द्रित थियो, संवैधानिक वा राजनीतिक नियुक्तिमा अवरोध थिएन। तर समितिबाट पारित विधेयकमा ‘बाहेक’ भन्ने शब्द नराखिएको भए पनि प्रतिनिधिसभामा प्रस्तुत हुँदा पुनः उक्त शब्द समावेश गरिएको पाइएपछि सांसदहरूले यसलाई सुविचारित षड्यन्त्र र संस्थागत विश्वासमाथिको हमला भन्दै आपत्ति जनाएका छन् ।








