‘कुलिङ पिरियड’ मा देउसी खेल, सभापति र सचिवले राजीनामा दिनुपर्छ : माधव सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले ‘कुलिङ पिरियड’सम्बन्धी विधेयकमा भएको शब्द फेरबदल सुविचारित षड्यन्त्र भएको स्पष्ट आरोप लगाएका छन् ।
सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सापकोटाले मुख्यसचिव र महासचिवको नेतृत्वमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा ‘देउसी खेल’ जस्तो कार्य भएको बताए ।
‘राज्य व्यवस्थामा सैद्धान्तिक र राजनीतिक सहमति कायम भएपछि समितिको बैठक नबोलाइकन सभापतिले प्रतिवेदन बुझाउनु कुनै संयोग होइन,’ सापकोटाले भने, ‘यो सुविचारित षड्यन्त्र हो, संसदमाथिको गम्भीर अपराध हो ।’
उनले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडामाथि पनि गम्भीर प्रश्न उठाउँदै भने, ‘यदि उहाँ जानकार भएर संलग्न हुनुहुन्छ भने यो किर्ते र जालसाझी हो। यदि संलग्नता छैन भने उहाँको हस्ताक्षर रहेको प्रतिवेदन संसदमा कसरी पुग्यो ?’
सापकोटाले तत्काल समितिका सभापति र सचिवले नैतिक जिम्मेवारी लिनु पर्दछ भनी राजीनामा दिनुपर्ने माग गरे । साथै, उनले उच्चस्तरीय वा संसदीय छानबिन समिति गठन गरेर दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिए ।
सापकोटाले स्पष्ट रूपमा यो प्रकरणको निष्कर्ष ननिस्किञ्जेल राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अघि नबढ्ने बताएका छन् ।
‘छानबिनको अवस्था नबनेसम्म समितिको बैठक बस्न सक्दैन,’ उनले भने ।








