कुलिङ पिरियडमा ‘बाहेक’ शब्द घुसेपछि तरंग

विधेयकमा छेडछाड घोर अपराध हो, कीर्ते गर्नेलाई हदैसम्मको कारबाही होस् : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भई सदनमा पेस भएको संघीय निजामती सेवा विधेयकमा गरिएको अनधिकृत परिवर्तनलाई ‘घोर अपराध’ र ‘सार्वभौम संसद्को अपमान’को संज्ञा दिएका छन् । उनले यस प्रकरणमा संलग्नहरूलाई तत्काल हदैसम्मको कारबाही गर्न र विधेयकलाई पुरानै अवस्थामा फर्काउन जोडदार माग गरेका हुन् ।

आइतबार समितिबाट पारित विधेयकमा निजामती सेवाबाट अवकाश पाएका कर्मचारीले दुई वर्षसम्म कुनै पनि संवैधानिक वा राजनीतिक नियुक्ति लिन नपाउने गरी ‘कुलिङ अफ पिरियड’को व्यवस्था गरिएको थियो । तर, सदनमा पेस हुने क्रममा उक्त प्रावधानलाई निष्प्रभावी तुल्याउने गरी रहस्यमय ढंगले ‘बाहेक’ शब्द थपिएपछि यसले राष्ट्रिय राजनीतिमा तरंग पैदा गरेको छ ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता कोइरालाले लेखेका छन्, ‘सर्वसम्मतिबाट संसद्‍मा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराइनु कुनै सामान्य घटना नभई, देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो ।’

विधेयकमा भएको यो किर्तेपूर्ण कार्यले सुशासन र कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ छ । उनले यस घटनालाई सामान्य रूपमा लिन नहुने चेतावनी दिँदै तत्काल छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन सरकार र संसद्को ध्यानाकर्षण गराएका छन् । कोइरालाले भनेका छन्, ‘यस प्रकरणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाउँ । कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका कामकारबाही अगाडि बढ्नु हुँदैन र बढ्दैन ।’

विधेयकमा गरिएको यो छेडछाडले अवकाशप्राप्त उच्चपदस्थ कर्मचारीहरूलाई तत्कालै लाभको पदमा नियुक्ति दिने बाटो खोल्न खोजिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =