अनेरास्ववियूमा विद्रोह : न्यौपानेको अध्यक्षतामा समानान्तर कमिटी घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) समाजवादीमा आन्तरिक विवाद चुलिँदै गएको छ ।
पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै एक समूहले नरेश न्यौपानेको अध्यक्षता र प्रकाश श्रेष्ठको महासचिवतामा नयाँ समानान्तर केन्द्रीय कमिटी घोषणा गरेको छ ।
सोमबार जारी सर्कुलरमार्फत असन्तुष्ट पक्षले असार २१ गते पदाधिकारी बैठक र साउन पहिलो साता केन्द्रीय कमिटीको पहिलो बैठक बस्ने जनाएको छ । ती बैठकले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको कार्य विभाजन गर्ने पनि सर्कुलरमा उल्लेख गरिएको छ ।
गत माघमा महेश श्रेष्ठको नेतृत्वमा बनेको अनेरास्ववियू नेतृत्वलाई अस्वीकार गर्दै न्यौपाने समूहले यो कदम चालेको हो । उनीहरूले नेतृत्व चयन प्रक्रियामा गुटगत चलखेल भएको, संगठनात्मक समावेशिता नदेखिएको तथा विद्यार्थी हितका मुद्दाहरू पन्छाइएको आरोप लगाउँदै आएका छन् ।
नवघोषित नेतृत्वले आफूहरू वास्तविक विद्यार्थी हितको प्रतिनिधित्व गर्ने उद्देश्यले अगाडि बढेको दाबी गरेको छ ।








