दरबारमार्गमा लिफ्ट बनाउने क्रममा ४ तलाबाट खस्दा २ कामदारको मृत्यु

काठमाडौं । काठमाडौंको दरबारमार्गमा लिफ्ट बनाउने क्रममा भवनको चौथो तलाबाट खसेर दुई जना कामदारको ज्यान गएको छ ।
मृत्यु हुनेमा कैलाली घर भएका अन्दाजी ३० वर्षीय प्रदेशी चौधरी र बर्दिया घर भएका अन्दाजी २० वर्षीय विशाल चौधरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिए ।
सोमबार अपराह्न करिब ५ बजेतिर दरबारमार्गस्थित हिटीपोखरी नजिकै पोतला डेभलप्मेन्ट प्रालिले निर्माण गर्दै गरेको ९ तले पक्की भवनको चौथो तलाबाट लिफ्टमा काम गरिरहेका बेला उनीहरू खसेका थिए ।
एसपी बोहराका अनुसार ग्रिज लगाउने क्रममा प्रयोग गरिएको फलामको सिक्री चुँडिएपछि उनीहरू भुइँमा खसेका हुन् । गम्भीर घाइते अवस्थामा दुवैलाई वीर अस्पताल लगिएको थियो । तर, उपचारको क्रममा अपराह्न सवा ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । निर्माणस्थलमा सुरक्षा सावधानीको अभाव रहेको आशंका गरिएको छ ।








