युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरू उद्यमशीलता, रोजगारी र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्ने बताएका छन् ।

राष्ट्रिय युवा परिषद्को आयोजनामा आज काठमाडौँमा सुरु भएको ‘युवा उद्यमशीलता प्रवर्धन सम्मेलन’लाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘युवाका लागि अबको निकासः उद्यमशीलता, रोजगारी र सीप विकास’ भन्ने नारासहित आयोजित सम्मेलनमा उपराष्ट्रपति यादवले युवाहरूको साहस, सृजनशीलता र सम्भावनालाई नेपालको उज्ज्वल भविष्यको आधारका रूपमा उल्लेख गरे । ‘नेपालको कुल जनसङ्ख्याको ठूलो हिस्सा ओगट्ने युवा शक्ति आजको यथार्थमात्र होइन, उज्यालो भविष्यको सुनिश्चितता पनि हो’, उनले भने, ‘युवाहरू नवप्रवर्तनशील सोच र उद्यमशील दृष्टिकोणका साथ राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ ।’

उपराष्ट्रपति यादवले राष्ट्रिय युवा परिषद्ले प्रदेशस्तरीय सम्मेलनहरूबाट केन्द्रीय तहसम्म आइपुग्दा उद्यमशीलता प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गरे । यस्ता सम्मेलनले सरकारका नीति र कार्यक्रमलाई युवासँग जोड्न, निजी क्षेत्रसँग सहकार्य सुदृढ गर्न र स्टार्टअप संस्कृति प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

उपराष्ट्रपति यादवले जलविद्युत्, पर्यटन, कृषि, जडीबुटी, साना तथा घरेलु उद्योग र डिजिटल उद्यमजस्ता क्षेत्रमा युवालाई केन्द्रमा राखेर नीतिनिर्माण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो चाहना नेपाली युवा समस्या देखाउनेमात्र नहोस्, स्वयं समाधान पनि बनोस् भन्ने छ’, उनले भने, ‘यसका लागि सशक्त वातावरण, अनुकूल नीति, वित्तीय पहुँच र युवाप्रतिको विश्वास अपरिहार्य छ ।’

उपराष्ट्रपति यादवले युवाहरूलाई व्यवसाय सुरु गर्न आवश्यक पुँजी, सीप र मार्गदर्शन प्रदान गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्थान, वित्तीय निकाय र नागरिक समाजले साझा जिम्मेवारी लिनुपर्ने बताए । उनले बेरोजगारी घटाउन र युवालाई स्वरोजगारका लागि प्रेरित गर्न यो सम्मेलन कोशेढुङ्गा बन्ने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति यादवले सम्मेलनको सफलताका लागि आयोजक राष्ट्रिय युवा परिषद्लाई बधाई दिँदै युवाहरूको सृजनशीलता र जोशलाई व्यावहारिक रूपान्तरण गरी समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउन शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =