सभामुख घिमिरेद्वारा समिति सभापतिहरुसँग छलफल, गणपूरक संख्यामा समस्या रहेको गुनासो

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा तथा राष्ट्रिय सभाअन्तर्गत रहेका विषयगत समितिहरुका सभापतिहरुसँग छलफल गरेका छन् ।

सोमवार दिउँसो संसद् भवन, बानेश्वरमा भएको छलफलमा सभामुख घिमिरेले समितिहरुको कामकारबाहीबारे चासो राखेका हुन् । समितिमा देखिएको समस्या, चुनौति र कामको प्रभावकारितालाई कसरी बढाउने भन्ने विषयमा छलफल केन्द्रित भएको छ ।

छलफलमा सहभागी पूर्वाधार विकास समितिका सभापति दीपबहादुर सिंहका अनुसार सभामुखले सबै समितिका सभापतिहरुलाई बोलाएर हालका अवस्था, समस्याहरु र आगामी कार्यदिशाबारे जानकारी लिएका थिए । सिंहले अनलाइनखबरसँग भने, ‘सभामुखज्यूले कसरी अघि बढ्ने, के के समस्याहरू छन्, कहाँ रोकिएको छ भन्नेबारे बुझ्नुभयो । समितिहरु अझ सक्रिय र परिणाममुखी कसरी बनाउने भन्नेमा छलफल केन्द्रित भयो ।’

यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले पनि समितिको प्रभावकारिता, नीतिगत समस्या, निर्देशन कार्यान्वयन लगायतका विषयमा छलफल भएको जानकारी दिए ।

उनका अनुसार शीर्ष नेताहरु समिति सदस्य रहेकोले कोरम पुग्न समस्या हुने, सभा हल सानो हुनुजस्ता विषयहरु पनि सभामुखसमक्ष राखिएको छ । ‘५१ प्रतिशत सदस्य उपस्थित गराउन गाह्रो पर्छ, सभा हल सानो भएकाले बैठक गर्न अप्ठ्यारो छ भन्ने कुरा राख्यौं,’ यादवले भने ।

सभापति यादवले समितिमा विज्ञको व्यवस्था गरिदिन पनि सभामुख समक्ष माग राखेका छन् । सभामुख घिमिरेले समितिका काम सहज बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

छलफलमा सहभागी अधिकांश सभापतिहरुले समितिमा देखिएका व्यावहारिक तथा नीतिगत समस्याहरु समाधान गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − two =