काँग्रेस केन्द्रीय समिति बैठक: १३ वटा एजेन्डामा छलफल

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले १३ एजेन्डासहित केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु गरेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा संगठन, नीति, अनुशासन र समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल भइरहेको छ ।
पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा ‘१ सय दिने अभियान’को प्रतिवेदन पेश गरिँदैछ । अभियानमा जिल्लामा खटिएका नेताहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहेको उनले जानकारी दिए ।
प्रवक्तामहतका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधनको प्रस्ताव राखेका छन्। साथै, प्रतिष्ठानको प्रतिवेदन पनि बैठकमा प्रस्तुत गरिएको छ ।
अनुशासन समितिबाट विभिन्न जिल्लाबाट आएका गुनासो र निवेदनमाथि छलफल गरी तयार पारिएको प्रतिवेदन बैठकमा पेश हुनेछ । क्रियाशील सदस्यता नवीकरण, भ्रातृ संगठनहरूका अधिवेशन, विदेशस्थित जनसम्पर्क समिति, र संगठनको नाम संशोधन लगायतका विषय पनि छलफलको एजेन्डामा छन् ।
प्रवक्ता महतले भने, ‘कार्य सम्पादन समितिले गरेका निर्णयहरूलाई केन्द्रीय कार्य समितिबाट अनुमोदन गरिनेछ । संसद र सरकारमा पार्टीको भूमिका प्रभावकारी बनाउन छलफल हुनेछ । साथै, समसामयिक, राजनीतिक, सामाजिक र जनसरोकारका विषयमा पनि केन्द्रित भएर बैठक अघि बढ्नेछ ।’
उनले भ्रातृ संगठनहरूले समयमै अधिवेशन नगर्नुमा आ–आफ्नै कारण रहेको भन्दै यसबारे केन्द्रीय समितिले निर्णय लिने जानकारी दिए । बैठक ४–५ दिनसम्म चल्ने जनाइएको छ ।
प्रमुख छलफल बुँदाहरूः
- १ सय दिने अभियानको मूल्याङ्कन र प्रतिवेदन
- केन्द्रीय नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिका संशोधन
- अनुशासन समितिको प्रतिवेदन र अनुशासन उल्लंघनसम्बन्धी गुनासोको समीक्षा
- क्रियाशील सदस्यता नवीकरण
- भ्रातृ संगठनहरूका अधिवेशन समयमै नहुनुको समीक्षा
- विदेशस्थित जनसम्पर्क समितिसम्बन्धी विषय
- नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ र लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय संगठनको नाम संशोधन
- कार्य सम्पादन समितिका निर्णय केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने
- जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका पारित गर्ने
- संसद र सरकारमा पार्टीको भूमिका प्रभावकारी बनाउने उपाय
- राजनीतिक, सामाजिक र जनसरोकारका समसामयिक विषयहरूमा छलफल
- भ्रातृ संगठनहरूका अधिवेशन सम्बन्धी निर्देशन कार्यान्वयनको स्थिति
- अन्य सांगठनिक निर्णयहरू








