संसद भाषण र नाराबाजी गर्ने ठाउँ होइन : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदलाई जनताको पक्षमा निर्णय लिने र जनआस्था बढाउने थलोका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
सोमवार काठमाडौँमा आयोजित संसद दिवस, २०८२ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको प्रभावकारिता बढाउन बहुआयामिक सुधार आवश्यक रहेको बताए ।
‘संसद भाषण र नारावाजी गर्ने ठाउँ होइन, यो कार्य गर्ने, निर्णय लिने र परिणाम दिने मञ्चको रुपमा अघि बढ्नुपर्छ,’ सभामुख घिमिरेले भने, ‘जनताको आस्था बलियो बनाउने कुरा संसदले खेल्ने भूमिकाबाट सम्भव हुन्छ ।’
उनले पछिल्लो समय गणतन्त्रप्रति जनआस्था घटाउने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै संसदले ती प्रयासहरू विफल पार्न सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए । ‘गणतन्त्रप्रति वितृष्णा फैलाउने अनेक प्रयास भइरहेका छन्,’ उनले भने ‘यी प्रयासलाई निष्फल पार्नु आजको प्रमुख आवश्यकता र कर्तव्य हो ।’
सभामुख घिमिरेले संसदको कार्यदिशा सुधार गर्न पूर्वसांसदहरूको ज्ञान, अनुभव र क्षमताको प्रयोग गर्नुपर्ने बताए । ‘पूर्वसांसदहरुसँग भएको योग्यता र क्षमताबाट अहिलेको चुनौतीहरूको सामना गर्न सकिन्छ,’ उनले भने, ‘सरकार र संसद दुवैले त्यसमा ध्यान दिनुपर्छ ।’
उनले संसदलाई प्रभावकारी बनाउन सशक्त सचिवालयको आवश्यकता पनि औँल्याए। ‘संसदको प्रभावकारिता बढाउन सचिवालयलाई अझ सशक्त र सक्षम बनाउनुपर्छ,’ उनले भने ।
सभामुख घिमिरेले संसदीय प्रणालीमाथि वितण्डा खडा गर्ने प्रवृत्तिहरू देखिएको उल्लेख गर्दै ती प्रवृत्तिको प्रतिरोध गर्न सबै तहमा एकजुट हुनुपर्ने बताए । ‘संसदको प्रभावकारितामाथि मात्र होइन, व्यवस्थामाथि नै प्रश्न उठाउने कार्य भइरहेका छन्,’ उनले भने, ‘अब हामी सबै मिलेर यस प्रणालीको रक्षाका लागि एकजुट हुनुपर्छ ।’








