न्यायमा सर्वसाधारणको पहुँच घट्दै गएको छ : सांसद कार्की

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले न्यायमा सर्वसाधारणको पहुँच दिन प्रतिदिन कम हुँदै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
सोमबार बसेको संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै सांसद कार्कीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको संख्या बढ्दै गएको उल्लेख गर्दै, ती मुद्दाहरू अघि बढाउन प्रस्तावित न्यायाधीश शान्तिसिंह थापासँग योजना माग गरे ।
‘अहिले सर्वोच्चमै धेरै मुद्दाहरू पेन्डिङ छन्, विचाराधीन छन्,’ कार्कीले भने, ‘ती मुद्दालाई अघि बढाउन तपाईंको के सोच छ ? तपाईंको योजना के हो ?’
उनले न्यायालयप्रति आम जनताको विश्वास, आस्था र भरोसामा आएको गिरावटप्रति समितिको ध्यानाकर्षण गराउँदै सोचेअनुसारको सुधार आवश्यक भएको बताए । ‘न्यायमा सर्वसाधारणको पहुँच कम हुँदै गएको भन्ने चर्चा छ। न्यायालयप्रति जुन किसिमको आस्था, विश्वास र भरोसा हुनुपर्ने हो, त्यसमा कमी आएको हो कि भन्ने आशंका उठेको छ,’ उनले स्पष्ट पारे ।
सोमबारको बैठकमा सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्याय परिषद्मा सिफारिस महेशकुमार नेपालले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।
सांसद कार्कीले न्यायाधीश थापासँग प्रश्न गर्दै न्यायपालिकाको विश्वसनीयता पुनः स्थापित गर्नका लागि उहाँको भूमिका के हुने भन्ने विषयमा स्पष्ट योजना आउनुपर्ने बताए ।
उनका अनुसार, वर्तमान अवस्थामा न्यायपालिकामाथि उठेका प्रश्न र नागरिकको बढ्दो निराशालाई सम्बोधन गर्न ठोस कदम चालिनु अपरिहार्य छ ।








