युवालाई सर्वसुलभ र झन्झटरहित कर्जा दिने व्यवस्था आवश्यक : मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवाको उद्यमशीलता प्रवद्र्धनका लागि सहज, सर्वसुलभ र झन्झटरहित तरिकाले कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चौधरीले सरकारले ल्याएको ब्याज अनुदान कार्यविधिको प्रभावकारी कार्यान्वयन आवश्यक भएको उल्लेख गरे ।

‘स्टार्टअपका लागि परियोजना धितो राखेर कर्जा दिने व्यवस्था हुनुपर्छ,’ मन्त्री चौधरीले भने, ‘साथै युवाहरुलाई सजिलो, छरितो र पारदर्शी ढंगले सम्पूर्ण कर्जा सुविधा दिनुपर्ने आवश्यकता छ ।’

उनले युवाका लागि सहुलियतपूर्ण कर्जा, कम्पनी दर्ता प्रक्रिया, कर प्रणाली, नीति कार्यक्रम र उत्पादनमूलक क्षेत्रमा तीनै तहका सरकारको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै मन्त्री चौधरीले युवा उद्यमशिलताको प्रवद्र्धन गरी आयातमा निर्भर अर्थतन्त्रलाई निर्यातमुखी बनाउन यस्ता कार्यक्रमहरू फलदायी हुने विश्वास व्यक्त गरे । ‘युवा उद्यमीलाई प्रेरणा र अवसर दिन सक्ने यस्ता सम्मेलनबाट नीति निर्माणमा समेत सहयोग पुग्नेछ,’ उनले भने ।

उनले थपे, ‘नेपाली उत्पादन र सोचलाई प्राथमिकतामा राखेर स्थानीय, प्रदेश र संघ सरकार मिलेर अघि बढ्नुपर्छ। उद्यमशीलता, रोजगारी र सीप विकास नै अबको निकास हो ।’

मन्त्री चौधरीले युवाहरुलाई सहजीकरण मात्र होइन, सही ठाउँमा लगानी गर्न र परिश्रम गर्न पनि प्रेरित गर्नुपर्ने बताए । ‘युवाले पनि सही ठाउँमा आफ्नो लगानी र मेहनत गर्नुपर्छ, तबमात्र उद्यम सफल र दीगो बन्छ,’ मन्त्री चौधरीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nineteen =