देशको उच्च पदमा रही सकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले रोकेको छैन : हितराज पाण्डे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले देशको सबैभन्दा माथिको पदमा रही सकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
शनिवार जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमबिच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरे । समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूरा हुन नसकेकाले आफूले राजनीतिमा पुनः अग्रसर हुनुपर्ने देखेको र त्यही लक्ष्य पूरा गर्न नेकपा एमालेको सदस्यता नवीकरण गरेको घोषणा गरेका थिए ।
सोही बारेमा सञ्चारकर्मीको प्रश्नमा प्रमुख सचेतक पाण्डेले सम्माननीय पदमा पुगिसकेको देशको सबैभन्दा माथि रही सक्नुभएको व्यक्ति भएपनि आफ्नो चाहनालाई नकार्न नसकिने बताए । संविधानले राजनीति गर्न हुँदैन भनेर नरोकेको जिकिर गरे ।
उनले भने ‘कम्युनिस्टहरूका बिचमा एकता हुनुपर्छ । सबै बलियो हुनुपर्छ । एकताबद्ध हुनुपर्छ भन्ने सैद्धान्तिक कुरा त छँदै छ । हिजो एउटा कार्यक्रममा पूर्वराष्ट्रपति सम्माननीयज्युले जसरी विषयवस्तु राख्नुभएको छ त्यसले वाम एकता भइहाल्छ भन्नेकुरा मलाई लागिरहेको छैन । सम्माननीय पदमा पुगिसकेको देशको सबैभन्दा माथि रही सक्नुभएको व्यक्तिको आफ्नो चाहना हो । संविधानले कतै रोकेको जस्तो लाग्दैन । उहाँको आफ्नै निर्णय हो ।’
उनले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुनासाथ कम्युनिष्टहरुको बिचमा वाम एकता भइहाल्ने भन्नेकुरामा आफू विश्वस्त नरहेको बताए ।








