काँग्रेसले केन्द्रीय समितिको बैठकमा सरकार र बजेटको विषयमा छलफल गर्ने

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठकका लागि छलफलका एजेन्डाहरू तय गरेको छ ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समितिका छलफलका एजेन्डाहरू तय गरेको हो ।

बैठकले भ्रातृ सङ्गठनहरूलाई समय थप्नेबारेमा छलफल गरी निर्णय निकाल्ने बताएको छ । काँग्रेसको केन्द्रीय समितिको बैठक सोमवारदेखि सुरु हुँदैछ । केन्द्रीय समितिको बैठकमा समसामयिक, राजनीतिक विषयको समीक्षा हुने पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए ।

त्यस्तै केन्द्रीय समितिको बैठकमा पार्टीका विदेशमा रहेका जनसम्पर्क समितिलाई मजबुत बनाउने बारेमा छलफल हुनेछ । प्रदेश र केन्द्रको बजेटका बारेमा पनि छलफल हुने बताए । उनले केही भ्रातृ संगठनले अधिवेशन सकिसकेको र केहीले काम गर्न बाँकी रहेको र त्यसमा कति समय दिन सकिन्छ भन्नेबारेमा छलफल हुने बताए ।

संस्थाको आवश्यकताको आधारमा समय दिने बारेमा छलफल हुने बताए । साथै क्रियाशील सदस्यहरूको स्थितिबारेमा पनि छलफल हुनेछ ।

उनले भने ‘भोलिदेखि हुने हाम्रो केन्द्रीय समितिको बैठक छ । केही दिन चल्छ । केही समयपछिको ग्याप पछि केन्द्रीय समितिको बैठक भएको हुनाले यसमा भ्रातृ सङ्गठनहरूलाई समय थप्नेबारेमा छलफल हुन्छ । समसामयिक, राजनीतिक विषयको समीक्षा हुन्छ । विदेशमा जनसम्पर्क समिति छ । त्यसबारेमा पनि छलफल हुनेछ । त्यहाँको संरचना मजबुत गर्ने र त्यहाँ कसरी हाम्रा कुरा लैजाने भन्नेबारेमा छलफल हुन्छ । प्रदेश र केन्द्रको बजेट भर्खर आएको छ । हाम्रो पार्टीबाट प्रदेशमा रहेका मुख्यमन्त्रीलाई बोलाएर पनि छलफल हुन्छ । क्रियाशील सदस्यताको बारेमा के भयो त्यसमा पनि छलफल हुनेछ । संगठनात्मक कार्यक्रम सय दिने अभियान थियो । त्यसको बारेमा पनि छलफल हुन्छ । सरकार कसरी चलिरहेको छ, प्रदेश केन्द्र त्यसबारेमा पनि छलफल हुन्छ ।’

प्रवक्ता महतले राष्ट्रपति भइसकेको व्यक्ति पार्टी भन्दा माथि हुने भन्दै पुनः राजनीतिमा सक्रिय हुनेकुरा राम्रो नरहेको बताए । आफूहरूको पार्टीले राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय राजनीतिमा नल्याउने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =