प्रकाशमानलाई काँग्रेस सांसद मिश्रको सुझाव- शहरी विकास मन्त्रालयको नाम परिवर्तन गर्नुस्

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले शहरी विकास मन्त्रालयको नाम परिवर्तन गरी ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय राख्न सुझाव दिएका छन् ।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह अहिले कार्यवाहक प्रधानमन्त्री रहेकाले यही बेलामा मन्त्रीपरिषद् बैठक बोलाइ नाम परिवर्तन गर्न उनको सुझाव छ ।
उनले राजश्व चुहावटमा कडा ढंगले प्रस्तुत हुनुपर्ने बताए । वनलाई नोक्शान पुयाइरहेका रुख कटान गरी उपयोग गर्नुपर्ने बताए ।
उनले भने ‘म शहरी विकास मन्त्रालयको बारेमा धेरै भन्न चाहन्न । काम र नाम मिलेन की । तसर्थ ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय यसको नाम राख्नुपर्छ । अहिले त उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्रीज्यु अहिले कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ । आफैँ भएको बेलामा क्याबिनेट राखेर यसको नाम बदल्दाखेरी जस्तो कामहरु भएको छ त्यो सजिलो हुन्छ की ? भन्ने मलाई लागेको थियो ।’
सांसद मिश्रले काठमाडौँका नदीनाला र खोला स्वच्छ र सफा राख्न स्थानीय जनपरिचालन आवश्यक रहेको बताए ।








