आर्थिक कारोबार गर्दा बेरुजु नै नआउने गरी गर्नुपर्छ : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले सार्वजनिक वित्तीय व्यवस्थापनमा समस्या देखिएको बताउँदै यसतर्फ ध्यान जान जरुरी रहेको बताएका छन् ।

आइतबार महालेखा परीक्षक कार्यालयको ६७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आर्थिक कारोबार गर्दा बेरुजु नै नआउने गरी गर्नुपर्नेमा उल्लेखनीय रुपमा बेरुजु देखिनु उचित नरहेको बताए । जसले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेको बताए । सोका लागि तीन तहका पदाधिकारी तथा कर्मचारीहरूले जिम्मेवारी पूर्वक कार्यसम्पादन गर्नुपर्ने उनको भनाई छ । महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा २०८०÷८१ सम्मको अद्यावधिक बेरुजु ७ अर्ब ३३ करोड पुगेको प्रसङ्ग जोड्दै उनले देखिएको बेरुजुलाई समयमै टुङ्गो लगाउन कानुनमा तोकिएको जिम्मेवारीअनुसार तीनै तहका सरकार, लेखाउत्तरदायी अधिकृत एवं महालेखापरीक्षकले प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने बताए ।

सभामुख घिमिरेकाअनुसार स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न सबै पक्षबिच कार्यसम्पादनमा सन्तुलन हुनुपर्ने देखिन्छ । स्थानीय तहका लागि आर्थिक कार्यविधि कानुनको खाँचो देखिएको छ भने बेरुजु फर्स्यौट गर्न तथा जबाफदेहिता प्रवर्द्धन गर्न लेखा समितिको भुमिका रहनेमा हालसम्म पनि कतिपय स्थानीय तहमा लेखा समिति गठन नभएको अवस्था छ । जसले गर्दा सार्वजनिक वित्तीय व्यवस्थापनमा नै समस्याहरू देखिएका छन् ।

उनले भने – ‘समयको विकाससँगै लेखापरीक्षणमा समेत चुनौती थपिएका छन् । त्यस्ता चुनौतीलाई अवसरको रुपमा रूपान्तरण गरी अगाडि बढ्नका लागि कार्यालय आफूलाई समक्ष बनाउनु पर्दछ । सोका लागि लेखापरीक्षणमा नवीन प्रविधिको उपयोग गर्नुपर्ने, कर्मचारीहरूमा सक्षमता अभिवृद्धि गर्नुपर्ने, सरोकारवालाहरूको अपेक्षा अनुरूप कार्यसम्पादन गर्न उनीहरूबिच समन्वय र सहकार्य गर्नुपर्ने, संस्थागत शासन व्यवस्थालाई मजबुत बनाउनुपर्ने र अन्य राष्ट्रका असल अभ्यासहरूको समेत अनुसरण गर्नुपर्ने देखिन्छ । केही दिन अगाडि मात्र कार्यालयले आगामी ५ वर्षका रणनीतिक योजना स्वीकृत गरेको जानकारी पाउँदा खुसी भएको छु । र उल्लिखित चुनौतीहरू समाधानका लागि उक्त योजना फलदायी हुने विश्वास लिएको छु ।’

उनले नेपाल सरकारको ठूलो लगानी रहेका सार्वजनिक संस्थान, समिति, कोष, परिषद् लगायतका संस्थाको वित्तीय अवस्थाका सम्बन्धमा समेत यस कार्यालयले कैफियतहरू देखाउँदै आएको बताउँदै त्यस्ता संस्थाको सञ्चालन नतिजाको गहनरुपमा अध्ययन विश्लेषण गरी प्राप्त उपलब्धि सम्बन्धमा समेत प्रतिवेदन गर्नुपर्ने बताए ।

यस्ता संस्थाहरूको सञ्चालन खर्चमा वर्षेनी वृद्धि हुँदै गइरहेको परिप्रेक्ष्यमा सरकारको भुमिका समेत प्रभावकारी हुनुपर्ने उनको भनाइ रहेको थियो ।
सभामुख घिमिरेकाअनुसार महालेखापरीक्षकको कार्यालयले सरकारी सूचना प्रविधिको लेखापरीक्षण गरी सरकारी डाटाको सुरक्षा, तथा व्यक्तिगत तथ्याङ्कमा पहुँच जिम्मेवार पदाधिकारी वा कर्मचारीमा मात्र हुने, समग्र साइवर सुरक्षा लगायतको विषयमा लेखापरीक्षण गर्ने दक्ष जनशक्तिको विकास गर्दै आफूले सञ्चालनमा ल्याएको नेपाल अडिट मेनेजमेन्ट सिस्टममा समेत समायनुकुल अद्यावधिक गर्दै सार्वजनिक क्षेत्रको लेखापरीक्षणमा कृत्रिम बुद्धिमत्ताको प्रयोग सम्बन्धमा अध्ययन गरी कुनकुन क्षेत्र तथा विषयमा यसको प्रयोग गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनु आवश्यक छ ।

लेखापरीक्षण कार्य आर्थिक कारोबारको परीक्षणमा मात्र सीमित नरही सरकार नीतिहरूको कार्यान्वयन र सोको प्रभाव, जनचासो र नागरिक अपेक्षाका विषयहरू, सरोकारवालाहरूले उठान गरेका विषयहरू, सेवा प्रवाहको अवस्था, पूर्वाधार निर्माण, राजश्व असुलीको दायरा तथा क्षेत्र र सोबाट प्राप्त मूल्य सार्थकता लगायतका विषयहरूको समेत विस्तृत रुपमा अध्ययन गरी प्रतिवेदन गरेमा सोबाट संसद र सरकारका काम कारबाहीलाई समेत मार्गप्रशस्त हुनेतर्फ सभामुख घिमिरेले ध्यानाकर्षण समेत गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + six =