माधव नेपाललाई रामकुमारीले गरिन् ‘मरेको सिनो’सँग तुलना, नेकपा एसमा खैलाबैला

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै आक्रामक अभिव्यक्ति दिएकी छन् । उनले शनिबार अध्यक्ष नेपाललाई लक्ष्यित गर्दै ‘मरेको सिनोलाई काँधमा राखेर हिँड्न नसकिने’ अभिव्यक्ति दिएकी हुन् ।

अध्यक्ष नेपालमाथि अख्तियारले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दाले पार्टीमा गम्भीर संकट निम्त्याएको उनको जिकिर छ । बुटवलमा आयोजित नेकपा (एस) सम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्ने क्रममा झाँक्रीले पार्टी पुनर्गठनको एउटै विकल्प ‘अर्ली महाधिवेशन’ भएको उद्घोष गरिन् । उनको यो अभिव्यक्तिले नेकपा एसभित्र गहिरो तरंग र आक्रोश पैदा गरेको छ ।

के थियो झाँक्रीको आक्रामक अभिव्यक्ति ?
उपस्थित युवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै झाँक्रीले पार्टीको संकटबारे खुलेरै बोलिन् । उनले भनिन्, ‘पार्टीमा अर्को ठूलो संकट छ । तपाईंहरू सबैलाई थाहा छ, अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने होइन ।’

उनले नेतृत्वमाथि प्रहार गर्दै थपिन्, ‘कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? गरौँ न त, अर्ली महाधिवेशन गरौँ । हलबाट नेतृत्व छानौँ । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न ।’

भिडियो लुकाउने प्रयास
पार्टीका उपमहासचिव मेटमणि चौधरी प्रमुख अतिथि रहेको कार्यक्रममा झाँक्रीले नेतृत्वविरुद्ध कडा टिप्पणी गरेपछि आयोजकहरूले त्यसलाई बाहिर आउन नदिन प्रयास गरेका थिए । खिचिएका भिडियोहरू मेटाउन लगाइएको थियो, तर युवा संघकी केन्द्रीय नेतृ रेखा तामाङ लोप्चनले आफ्नो फेसबुक वालबाट झाँक्रीको भाषणको भिडियो क्लिप सार्वजनिक गरिदिएपछि घटनाले राष्ट्रिय चर्चा पाएको हो ।

भिडियो बाहिरिएसँगै अध्यक्ष नेपाल निकट नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा झाँक्रीविरुद्ध आक्रोश पोख्न थालेका छन् । यसले पार्टीभित्र स्पष्ट दुई धार देखिएको छ । लामो समयदेखि पार्टीभित्र असन्तुष्ट रहँदै आएकी झाँक्रीको यो अभिव्यक्ति अनपेक्षित भने होइन । उनी नेकपा एमालेमा फर्कन सक्ने चर्चासमेत चलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =