प्रस्तावित न्यायाधीश पोखरेललाई बर्तौलाको ठाडो सुझाव- ‘न्यायाधीश नबन्नुस्, प्रक्रियाबाटै बाहिरिनुस्’

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश मेघराज पोखरेल संसदीय सुनुवाइ समितिमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरूको कडा आलोचना र प्रश्नहरूको सामना गर्न पुगेका छन् । सांसदहरूले उनको राजनीतिक पृष्ठभूमि, सर्वोच्च बार एसोसिएसनको अध्यक्ष पदबाट कार्यकाल बाँकी छँदै दिएको राजीनामा र त्यसले न्यायिक निष्पक्षतामा पार्न सक्ने असरबारे गम्भीर प्रश्न उठाएका हुन् ।
नेकपा एमालेका प्रमुख सचेतकले उनलाई न्यायाधीश बन्ने प्रक्रियाबाट स्वेच्छाले बाहिरिनसमेत सुझाव दिएका छन् । आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले पोखरेलको उम्मेदवारीले न्यायिक विचलनको जोखिम बढाएको भन्दै आपत्ति जनाए । सर्वोच्च बारको अध्यक्षमा करिब डेढ वर्षको कार्यकाल बाँकी रहँदै न्यायाधीश बन्न आउनुले पदप्रतिको निष्ठामा प्रश्न उठेको उनको तर्क थियो ।
‘न्यायाधीश बनेपछि राजनीतिक पक्षधरता छोड्छु भन्नुभयो, तर तपाईंको पृष्ठभूमि सक्रिय राजनीतिक छ,’ बर्तौलाले भने, ‘सात महिनाअघि बारमा गर्नुभएको प्रतिबद्धता तोडेर न्यायाधीशको प्रस्ताव आउने बित्तिकै खुट्टा उचालेर आउन मिल्छ ? यसो गर्दा भोलि न्यायिक विचलन आउँदैन भन्ने सुनिश्चितता कसरी हुन्छ ?’ उनले पोखरेलले विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गरेका बहसहरूको समेत स्मरण गराउँदै भने, ‘मेरो व्यक्तिगत सुझाव छ, तपाईं स्वविवेकीय ढंगले यो प्रक्रियाबाट अलग्गिनु राम्रो हुन्छ ।’
नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि पोखरेलको नैतिकतामाथि प्रश्न उठाए । बार जस्तो गरिमामय संस्थाको नेतृत्वमा निर्वाचित व्यक्तिले दुई वर्षे कार्यकाल पूरा नगरी पद त्याग्नु अनुचित भएको उनको भनाइ थियो । ‘केही समयअघि मात्रै बारमा निर्वाचित भएको व्यक्ति दुई वर्ष नपुग्दै सर्वोच्चमा जानुले उनको उच्च नैतिकतामाथि व्यवहारमा प्रश्नचिह्न खडा गर्छ,’ कार्कीले प्रश्न गरे, “यसलाई तपाईंले कसरी लिनुभएको छ ?’
बैठकमा नेकपा एमालेकी सचेतक सुनिता बरालले सुनुवाइका क्रममा रहेका सबै प्रस्तावित न्यायाधीशहरूको राजनीतिक दलसँगको आबद्धताको चर्चा चल्ने गरेको भन्दै यसले समग्र न्याय सम्पादनमा पार्ने असरबारे चिन्ता व्यक्त गरिन् । उनले पोखरेलको प्रस्तुतिले झनै शंका गर्ने ठाउँ दिएको बताइन् । ‘तपाईंको प्रस्तुतिबाट हामीले न्याय सम्पादनमा शंका गर्ने प्रशस्त ठाउँ पायौँ,’ उनले भनिन् ।








