सिंहदरबारको ढोकामा शिक्षक, भित्र विधेयकमाथि रस्साकस्सी

काठमाडौं । शैक्षिक हड्ताल रोक्न नेपाल शिक्षक महासंघसँग गरेको वाचाअनुसार विद्यालय शिक्षा ऐन जारी गर्ने सरकारी समयसीमा आज सकिँदैछ, तर ऐन जारी हुनेमा भने अझै अनिश्चितता कायम छ ।
सरकारले गरेको प्रतिबद्धता कार्यान्वयन नहुने देखेपछि महासंघले सिंहदरबारमा आफ्नो दबाब तीव्र पारेको छ भने संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति विधेयकका गाँठा फुकाउन अन्तिम कसरतमा जुटेको छ । गत वैशाख १७ गते, महासंघले आयोजना गरेको शैक्षिक हड्तालपछि सरकारले असार १५ भित्र विद्यालय शिक्षा ऐन जारी गर्ने लिखित सहमति गरेको थियो । सोही सहमतिको आधारमा महासंघले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो ।
तर, निर्धारित समयसीमाको अन्तिम दिनसम्म पनि विधेयक समितिमा नै अड्किएपछि शिक्षकहरू पुनः आक्रोशित बनेका छन् । सहमति कार्यान्वयनका लागि दबाब दिन महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा शिक्षकहरूको एक टोली आज बिहानैदेखि सिंहदरबारस्थित शिक्षा समितिको कार्यालयमा पुगेर सांसदहरूको ध्यानाकर्षण गराइरहेको छ । उनीहरूले सरकारले गरेको वाचाप्रति गम्भीर बन्न र तत्काल ऐन टुंगो लगाउन माग गरेका छन् ।
यसैबीच, विधेयकमा रहेका विवादित विषयहरू टुंग्याउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सिंहदरबारमा बसिरहेको छ । समितिका अनुसार आजको बैठकमा शिक्षकको ‘अध्यापन अनुमति पत्र’, राष्ट्रिय परीक्षा बोर्डको संरचना, विद्यालय समायोजन (मर्ज) र विषयगत शिक्षकको व्यवस्थापनजस्ता महत्वपूर्ण र पेचिला विषयहरूमाथि दफावार छलफल केन्द्रित छ । समितिले अधिकांश विषयमा सहमति जुटाए पनि केही प्रमुख मुद्दाहरूमा दलीय मतभेद कायमै रहँदा विधेयकले अन्तिम रूप पाउन सकेको छैन ।








