जनार्दन शर्माको प्रश्न- विगतको रङले न्याय पोतिन्न भन्ने के ग्यारेन्टी ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश मेघराज पोखरेलको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन् । आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा शर्माले पोखरेलको पृष्ठभूमिलाई आधार बनाउँदै न्यायाधीश नियुक्त भएपछि निष्पक्ष न्याय सम्पादन गर्ने आधार के हो भनी प्रश्न गरे ।

केही समयअघि मात्रै नेपाल बार एसोसिएसनको अध्यक्ष रहेका पोखरेलको राजनीतिक पृष्ठभूमिले भविष्यको न्यायिक कार्यसम्पादनमा असर पार्न सक्ने तर्फ शर्माले चासो व्यक्त गरे । उनले नेपालको बार राजनीतिक पक्षधरताबाट मुक्त हुन नसकेको जिकिर गर्दै भने, ‘बार स्वतन्त्र हुनुपर्ने हो, तर मैले बुझेको बार राजनीतिक धारासँग जोडिएर प्रतिस्पर्धा हुने संस्था हो । यस्तो पृष्ठभूमिबाट आएको व्यक्ति साँच्चै निष्पक्ष हुन सक्छ भन्नेमा प्रश्न उठ्छ ।’

प्रस्तावित न्यायाधीश पोखरेलले आफू राजनीतिक पक्षधरताबाट अलग भइसकेको बताए पनि त्यसमाथि प्रश्न उठाउँदै सांसद शर्माले भने, ‘के मनैदेखि त्यो सम्भव छ? विगतको रङले भविष्यका निर्णयहरूलाई प्रभाव पार्दैन भन्ने आधार के हो ?’

यसका साथै शर्माले न्यायपालिकाभित्रको ढिलासुस्तीप्रति पनि कडा टिप्पणी गरे । उनले मुद्दाको सुनुवाइमा हुने ढिलाइले न्यायको मर्ममाथि नै प्रहार गर्ने बताउँदै प्रश्न गरे, ‘कतिपय मुद्दाहरू वर्षौंसम्म सुनुवाइ नै नहुने अवस्था छ । सुनुवाइमा ढिलाइ गर्नु पनि त अन्याय होइन र? न्याय समयमा दिनु न्यायाधीशको परम कर्तव्य होइन र ?’

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशहरूको नियुक्ति अनुमोदन गर्नुअघि उनीहरूको योग्यता, क्षमता र अनुभवबारे प्रश्न गर्ने क्रममा सांसद शर्माले उक्त धारणा राखेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 15 =