विद्या भण्डारीको कमब्याकले अप्ठ्यारोमा ओली

काठमाडौं । राष्ट्रपतिको दोस्रो कार्यकाल सकिएपछि करिब साढे दुई वर्ष मौन बसेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन् । घोषणासँगै नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको निर्विकल्प जस्तै देखिएको नेतृत्वमाथि शक्तिको नयाँ चुनौती खडा भएको छ ।
पार्टीको विधान महाधिवेशनको ठीक संघारमा आएको भण्डारीको यो कदमले एमालेभित्र लामो समयदेखि सुप्त रहेको शक्ति संघर्षलाई पुनः सतहमा ल्याइदिएको छ । जननेता मदन भण्डारीको ७४औँ जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीले आफ्नो राजनीतिक पुनरागमनको औपचारिक उद्घोष गरिन् । रोचक त के रह्यो भने, कार्यक्रमका प्रमुख अतिथि बनाइएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली, भण्डारीले बोल्नुअघि नै स्पेन भ्रमणको हतारो देखाउँदै बाहिरिए ।
ओली हिँडेपछि मञ्चमा उभिएकी भण्डारीले आफू सबै वस्तुस्थितिको विश्लेषणपछि सक्रिय राजनीतिमा फर्किएको बताउँदा हल गडगडाहट तालीले गुञ्जियो । ‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले ‘जबजको तीन दशक’ शीर्षकको बहस कार्यक्रममा भनिन्, ‘अब म एमाले परिवारको एक सदस्यका रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्छु ।’
‘महत्वाकांक्षा छैन’ तर रणनीति प्रस्ट
भण्डारीले आफ्नो कुनै विशिष्ट महत्त्वाकांक्षा नरहेको बताए पनि उनको पुनरागमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनीनिकट नेताहरूका अनुसार, भण्डारीको मुख्य रणनीति आगामी महाधिवेशनमा ७० वर्षे उमेर हद र दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने विधानको पुरानो व्यवस्थालाई पुनः स्थापित गराउनु हो ।
यदि यो व्यवस्था लागू भएमा अध्यक्ष ओलीको आगामी कार्यकालको यात्रामा स्वतः अवरोध सिर्जना हुनेछ । यही रणनीतिक चालले एमालेको आगामी विधान महाधिवेशनलाई दुई नेताबीचको शक्ति संघर्षको निर्णायक विन्दुका रूपमा हेरिन थालेको छ । आफ्नो कदमलाई जायज ठहर्याउँदै भण्डारीले भनिन्, ‘सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउने दायित्व पूरा नभएकाले म फेरि सक्रिय राजनीतिक यात्रामा आउनुपरेको हो ।’
ओलीको कटाक्ष र छेडखानी
पछिल्लो समय भण्डारी र ओलीबीच सार्वजनिक मञ्चबाटै छेडखानी चल्दै आएको छ । भण्डारीको पुनरागमनको चर्चा चल्न थालेपछि नै ओलीले पटक-पटक असन्तुष्टि पोख्दै आएका थिए । शनिबारको कार्यक्रममा पनि ओलीले आफ्नो संक्षिप्त मन्तव्यमा घुमाउरो पाराले भण्डारीप्रति कटाक्ष गरे । ‘एमाले ध्वस्त हुन्छ भनेर कसैले बम पड्काउँछु भन्ने ठानेको छ भने त्यो पड्कनेवाला छैन, आशा नगरे हुन्छ,’ ओलीले भने ।
यो पनि : कुनै बम पड्किनेवाला छैन, सपना नदेख्नुस् : अध्यक्ष ओली
हतार भएको भन्दै उनले भण्डारीको भाषण सुन्न नबसेकोबारे टिप्पणी गरे, ‘सम्माननीय पूर्वराष्ट्रपतिज्यूले मेरो पनि कुरा सुन्नुस् न भन्दै हुनुहुन्थ्यो, तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छ… उहाँले नराम्रो कहिल्यै बोल्नुहुन्न, त्यसैले मैले सुन्न बसिरहनु पर्दैन ।’ यसअघि ओलीले पार्टीमा”गुटबन्दी चलाइएको र बाहिर-बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोजिएको भन्दै भण्डारीप्रति संकेत गरेका थिए ।
दुई खेमाको ध्रुवीकरण
भण्डारीको पुनरागमनसँगै एमालेभित्र दुई खेमा स्पष्ट देखिन थालेको छ । भण्डारीको पक्षमा उभिएका पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ७० वर्षे उमेर हद र कार्यकालको व्यवस्था ‘जबज’को अविच्छिन्न अंग भएको बताउँदै यसलाई कमजोर पार्न नहुने तर्क गरेका छन् । ‘यो कुनै लहडबाजीमा राखिएको थिएन, तीन दशकको बहसको निष्कर्ष हो,’ पोखरेलको भनाइले भण्डारीको रणनीतिलाई बल पुर्याएको छ ।
एमालेको २०-२२ भदौमा हुने विधान महाधिवेशनले यी मुद्दाहरूको छिनोफानो गर्नेछ । त्यसपछि हुने नेतृत्व चयनको महाधिवेशनमा ओली र भण्डारीबीचको शक्ति सन्तुलन कस्तो हुनेछ भन्ने टुंगो लाग्नेछ । ओली-निकट नेताहरू भने बाहिर चर्चा भएजस्तो शक्ति संघर्ष नहुने र महाधिवेशनसम्म दुई नेताबीच समझदारी हुने दाबी गर्छन् । नेता पदम गिरी भन्छन्, ‘विगतमा वैचारिक र सांगठनिक रूपमा एकै ठाउँमा रहेका नेताहरू समझदारीपूर्वक नै अघि बढ्नुहुन्छ । बाहिर भनिएजस्तो ध्रुवीकरण र संघर्षको अनुमान पूरा हुन्न ।’








