राजनीतिमा थकाई भन्ने शब्द हुँदैन, सुखी जनता र समृद्ध नेपालको दायित्व पूरा गर्न राजनीतिमा फर्किएकी छु : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएकाले त्यसका लागि आफू अग्रसर भएको बताएकी छन् ।
शनिवार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने आफूलाई लागेको र यस गहन दायित्वलाई सबैले बहन गर्न अग्रसर रहेको बताइन् ।
फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको बताइन् । अब आफू नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको बताइन् । यसमा आफूले गर्व महसुस गरेको जिकिर गरिन् ।
आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा नरहेको र देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य भएको बताइन् । राजनीतिमा थकाइ भन्ने शब्दावली नरहने बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले भनिन् ‘आफ्नो मातृभूमि र जनताको फरक ढङ्गले सेवा गर्नुपर्ने दायित्वबाट म बाहिर आएको दुई वर्ष बढी भएको छ । यसबिचमा मैले देशका विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तरक्रिया गरेको छु र आफ्नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग भेटघाट गरेको छु । मेरो यस किसिमको छलफलका आधारमा निस्केको निचोड भनेको सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने नै हो । त्यसैले, यस गहन दायित्वलाई सबैले बहन गर्न अग्रसर हुनैपर्दछ ।
म राष्ट्रपतिको भूमिकाबाट बाहिर आएदेखि र अलि पछि त सघन रूपमा नै भविष्यमा मेरो सामाजिक तथा राजनीतिक जीवनको बारेमा सञ्चारजगत र पार्टीको कार्यकर्ता पंक्तिबाट समेत चासो राखेको पाएको छु । सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमा मेरा बारेमा चर्चा परिचर्चा भइरहेको देखेको छु र पढेको छु । सार्वजनिक सरोकारका यी विषयहरूलाई मैले गहन रूपमा चिन्तन–मनन गरेको छु । अनि एउटा निष्कर्षमा समेत पुगेको छु । त्यस विषयलाई आज मैले यहाँ स्पष्ट पार्नुपर्दछ भन्ने मलाई लागेको छ । जननेता मदन भण्डारीको अवसानबाट पार्टी र म समेत सिङ्गो राष्ट्र शोकमा डुबेको अवस्थामा मलाई पार्टीले काठमाडौंको संसदीय उप–निर्वाचनमा प्रतिस्पर्धी बनायो । यस राजनीतिक घटनाले मेरो पहिलो जन्म आमा–बुबाले दिनुभएको र दोस्रो जन्म विद्या भण्डारीको रूपमा काठमाडौँका जनताले दिए भन्ने अनुभूति त्यसबेलै मैले गरेको थिएँ ।
जनताको माया र विश्वास तथा पार्टीको भरोसाले गर्दा मैले निर्वाचन समेत जितेँ । जनताको छोरीको रूपमा मैले सोही बेलादेखि नै आफ्नो सम्पूर्ण जीवन राष्ट्रलाई दिनेछु भन्ने संकल्प गरिसकेको थिएँ । देशभक्त, राष्ट्रवादी र प्रगतिशील पार्टी भएकाले नै म विद्यालयतहको विद्यार्थी हुँदादेखि नै पहिलेको माले र अहिलेको नेकपा (एमाले) मा आबद्ध भएर सामाजिक–आर्थिक रूपान्तरण अभियानमा आबद्ध भएकै हुँ । वास्तवमा त्यसबेलै पार्टीमा आबद्ध भएर जीवनभर राष्ट्र र जनताको सेवा गर्ने अठोट गरिसकेकै थिएँ । फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन ।
देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो— जनता भनेका भगवान् हुन् । साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईँहरूका बिचमा हुँदा मदनका यी भनाइहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । व्यवहारका कसीबाट खारिएका यी भनाइलाई आदर्श मानेर म समर्पित बनिरहनेछु । राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएका छन् । मलाई जस्तै विगतले अरूलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात् गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ । सदाझैँ सबैको सधैँभरि माया र विश्वास पाइरहूँ ।’
पूर्वराष्ट्रपति भण्डारीले समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात् गरेर संयमतापूर्वक अग्रसर हुनुपर्ने बताइन् । उनले सदाझैँ सबैको सधैँभर माया र विश्वास पाइरहने विश्वास समेत व्यक्त गरिन् ।








