पूर्वमन्त्रीको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाइयोस् : प्रकाश ज्वाला

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले भूतपूर्व मन्त्री, राजनीतिक दलका नेता र व्यापारीहरूको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मीहरूलाई तत्काल फिर्ता बोलाउन माग गरेका छन् ।
प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले सरकारले अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सुरक्षाकर्मीहरूलाई भूतपूर्व मन्त्रीहरू, कतिपय राजनीतिक दलका नेताहरू, कतिपय व्यापारीहरूको सुरक्षामा खटाएको बताए । यो कदम गलत रहेको बताए ।
ऐन, कानुन विपरीत खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन माग गरे ।
उनले भने ‘यतिबेला सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सुरक्षाकर्मीहरूलाई भूतपूर्व मन्त्रीहरू, कतिपय राजनीतिक दलका नेताहरू, कतिपय व्यापारीहरूको सुरक्षामा खटाएको छ । ऐन, कानुन विपरीत त्यसरी सुरक्षाकर्मीहरूलाई खटाउने कुरा निश्चित रुपमा गम्भीर छ, बेठिक छ । ती सुरक्षाकर्मीहरू कुन कुन व्यक्तिका लागि खटाइएको छ, गृहमन्त्रीले यो सदनमा जानकारी गराउनु पर्छ । र तुरुन्तै त्यसरी खटाइएका सुरक्षाकर्मीहरूलाई तत्काल फिर्ता बोलाउनुपर्छ ।’
सांसद ज्वालाले कसको कसको सुरक्षामा कति सुरक्षाकर्मी खटाइएको छ भन्नेकुरा सदनमा गृहमन्त्रीले जानकारी गराउनुपर्ने माग गरे ।








