पार्टीभित्रका स्वार्थीको हिसाबकिताब हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आउनुअघि नै व्यक्तिगत स्वार्थका लागि चलखेल गर्ने तत्त्वहरूलाई कडा चेतावनी दिएका छन् । उनले पार्टी ‘मिसन-२०८४’ को एकल बहुमतको लक्ष्यमा अर्जुनदृष्टि लगाएर अघि बढेको उल्लेख गर्दै बीचमा स्वार्थको खेल खेल्नेहरूको हिसाबकिताब गरिने चेतावनी दिएका हुन् ।

जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा शुक्रबार राष्ट्रिय युवा संघले चन्द्रागिरीको कङ्कालीमा आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र देखिएको अस्वाभाविक महत्त्वाकांक्षाप्रति तीव्र असन्तुष्टि जनाए । ‘हामी अर्जुनदृष्टिका साथ मिसन २०८४ को अभियानमा छौँ । हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै केहीलाई महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन ।’

उनले आम कार्यकर्ताहरू पार्टीको लक्ष्यप्रति स्पष्ट रहेको तर केही सीमित व्यक्तिहरू मात्र पद र प्रतिष्ठाका लागि हतारिएको संकेत गरे । ‘हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन, केही स्वार्थीहरूलाई मात्रै लागेको हो। हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन,’ उनले भने ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रको सुधारबारे पनि चर्चा गरे । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा गत वर्षभन्दा १४ प्रतिशतले सुधार आउनु शिक्षक, विद्यार्थी र सबैको मेहनतको फल भएको बताउँदै उनले आगामी वर्षहरूमा यसलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =