राजमार्गमा रक्ताम्य भेटिएका पुरुषको मृत्यु, खुलेन परिचय

काठमाडौं । मकवानपुरको हेटौंडामा शनिबार बिहान एक अपरिचित पुरुषको रहस्यमय मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गको सडक खण्डमा रक्ताम्य र गम्भीर घाइते अवस्थामा फेला परेका उनको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको पहिचान भने खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको नियमित गस्ती टोलीले शनिबार बिहान २:२५ बजे हेटौंडा उपमहानगरपालिका-१९, सान्नाटारस्थित राजमार्गमा ती पुरुषलाई अचेत अवस्थामा देखेको थियो । मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामु अर्यालले जानकारी दिएअनुसार, उनको टाउकोमा गम्भीर चोट लागेको थियो र शरीर रक्ताम्य थियो ।

गम्भीर अवस्थामा रहेका उनलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याए पनि बचाउन सकिएन । अस्पतालले बिहान ३:२० बजे उनलाई मृत घोषणा गरेको थियो ।

डिएसपी अर्यालका अनुसार मृतकको सनाखत हुन सकेको छैन । ‘मृतकको शरीरमा लागेको चोटको प्रकृति र घटनास्थलको अवस्था हेर्दा कुनै अज्ञात सवारी साधनले ठक्कर दिएर भागेको (हिट एन्ड रन) हुनसक्ने बलियो आशंका छ,’ डिएसपी अर्यालले भने, ‘हामीले घटनाबारे चौतर्फी अनुसन्धान सुरु गरेका छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + two =