किसानका लागि मल व्यवस्था गरियोस् : एकीकृत समाजवादी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले रोपाइँको समयमा किसानलाई आवश्यक मल आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय अलकापुरी, काठमाडौंमा बसेको बैठकले किसानको मागअनुसार मल आपूर्ति सहज बनाउन सरकारलाई आग्रह गरेको हो ।
बैठकपछि जानकारी दिँदै पार्टीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले वर्षात्को समयमा सम्भावित प्राकृतिक विपद् रोकथाम, विपद् जोखिम न्यूनीकरण तथा पुनःस्थापना र व्यवस्थापनका लागि पूर्वतयारी गर्न पनि सरकारलाई सुझाव दिइएको बताए ।
उनका अनुसार बैठकले विपद् व्यवस्थापनका लागि तालिमप्राप्त दक्ष जनशक्ति, ¥यापिड रेस्क्यु टिम तयार गर्ने, हरेक स्वास्थ्य केन्द्रमा आवश्यक स्रोत–साधन तथा औषधिको व्यवस्था गर्ने, क्षति पूर्वानुमान गरी नागरिकलाई समयमै सुसूचित गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ३० वर्षदेखि उखु किसानलाई दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँको अनुदान कटौती गरेकामा आपत्ति जनाउँदै बैठकले सो निर्णय सच्याउन माग गरेको छ ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था र पार्टीका हालका गतिविधिबारे पनि छलफल भएको थियो । साथै, पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधव नेपालमाथि अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेपछि विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा छाडेको विषयमा पनि चर्चा भएको ज्वालाले जानकारी दिए ।
बैठकले सो मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा दर्ता गरिएको निष्कर्ष निकालेको छ। “तत्कालीन मन्त्रिपरिषद्को निर्णय अख्तियारको क्षेत्राधिकारबाहिर भए पनि राजनीतिक दबाबका कारण मुद्दा चलाइएको निष्कर्ष बैठकले निकालेको हो,” ज्वालाले भने ।
उनका अनुसार मुद्दा दर्ता भएसँगै पार्टीको कार्यवाहक अध्यक्ष वा संसदीय दलको नेता तोक्नुपर्ने प्रस्ताव समेत केही नेताहरूबाट बैठकमा उठाइएको थियो ।








