चितवन देवभूमि हो, न्यायका लागि म हस्ताक्षर अभियानमा जाँदैछु : निकिता पौडेल

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि ’चरम अन्याय’ भएको भन्दै उनकी श्रीमती निकिता पौडेलले सामाजिक सञ्जालमार्फत गहिरो असन्तोष व्यक्त गरेकी छन् ।
फेसबुकमा लामो स्टाटस लेख्दै निकिताले चितवनलाई ‘देवता र देवताजस्ता मान्छे बस्ने देवभूमि’ उल्लेख गर्दै न्यायका पक्षमा जनमत सिर्जना गर्न नागरिकहरूलाई अपिल गरेकी हुन् । उनले लेखेकी छन्, ‘मेरो श्रीमान भन्नुहुन्छ, ‘चितवनमा देवता र देवताजस्ता मान्छे बस्छन् ।’ देवभूमि चितवनबाट म आफ्नो श्रीमानको न्यायका लागि भोलि हस्ताक्षर अभियानमा सहभागी हुँदैछु ।’
उनले विगतमा देशका कुनाकाप्चादेखि विदेशसम्म रहेका नेपालीहरूले जस्तोसुकै आपत्, पीडामा रवि लामिछानेलाई सम्झने गर्थे र रविले पनि सकेको सहयोग गर्दै आएका बताइन् । ‘आज उहाँमाथि स्वयं चरम अन्याय भएको छ,’ स्टाटसमा उल्लेख छ, ‘अब चाहिँ आवाज उठाउने पालो तपाईंहरूको हो ।’








