बोलाइयो चार संसदीय समितिको बैठक

काठमाडौं । संघीय संसदमा आज विभिन्न महत्त्वपूर्ण र राष्ट्रिय सरोकारका विषयमा छलफल गर्न चारवटा संसदीय समितिका बैठक बस्दैछन् । लामो समयदेखि प्रतिक्षारत विद्यालय शिक्षा विधेयक, राष्ट्रिय महत्वको कालीगण्डकी-तिनाउ नदी पथान्तरण आयोजना र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको भन्सार विधेयकजस्ता विषयहरू आज संसदीय समितिको प्राथमिकतामा परेका छन् ।
आज बस्ने बैठकहरूमध्ये शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकलाई विशेष चासोका साथ हेरिएको छ । बिहान ११ बजे सुरु हुने बैठकमा ‘विद्यालय शिक्षा विधेयक’ माथि अध्ययन गर्न गठित उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ । यो विधेयक लामो समयदेखि विवादित र बहुप्रतिक्षित भएकाले उपसमितिको प्रतिवेदन र त्यसमाथि हुने छलफलले विधेयकको भविष्य निर्धारण गर्नेछ ।
त्यस्तै, संघीयता कार्यान्वयन र राष्ट्रिय सरोकारका विषयमा केन्द्रित रहने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्दैछ । बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेखित विवादास्पद ‘कालीगण्डकी-तिनाउ नदी पथान्तरण आयोजना’को हालको अवस्थाबारे विस्तृत छलफल हुनेछ । यो आयोजनाले वातावरणीय र राजनीतिक वृत्तमा ठूलो बहस सिर्जना गरेको छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक बिहान ९ बजे नै बसेर ‘भन्सार विधेयक, २०८०’ माथि दफावार छलफल अगाडि बढाउनेछ । देशको आयात-निर्यात, राजस्व संकलन र व्यापार प्रणालीलाई निर्देशित गर्ने यो विधेयकलाई चाँडो टुङ्ग्याउन समितिमाथि दबाब छ ।
यसका अतिरिक्त, संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिका लागि महत्त्वपूर्ण मानिने संसदीय सुनुवाइ समितिको बैठक पनि बिहान ११ बजे बस्दैछ । समितिले विभिन्न नियुक्ति सिफारिसविरुद्ध परेका उजुरीकर्ताहरूसँग छलफल गर्ने कार्यसूची तय गरेको छ ।








