खानेपानीमा नागरिकको पहुँच र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी सङ्कल्प प्रस्ताव पारित

काठमाडौँ । खानेपानीमा नागरिकको सहज पहुँच पुर्याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सांसद जगप्रसाद शर्माले उक्त सङ्कल्प प्रस्ताव प्रस्तुत गरेका थिए । संकल्प प्रस्तावमाथिको छलफलपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे । दाहालले संकल्प प्रस्तावमा उल्लेख भएका विषयहरू कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिँदै अनुगमन गर्न समेत आग्रह गरे ।

संकल्प प्रस्ताव प्रस्तुत गर्दै शर्माले अहिले पनि कैयौँ ठाउँमा ब्लिचिङ पाउडर नपाएरै दूषित पानी पिउनुपर्ने बाध्यता रहेको बताएका थिए । उनले खानेपानी सबै प्राणीहरूको निम्ति महत्त्वपूर्ण रहेको बताउँदै दूषित पानीले झाडापखालादेखि विभिन्न रोगहरू ल्याउने र अनाहकमा नागरिकको ज्यान जाने खतरा बढिरहेको समेत जिकिर गरे ।

सांसद शर्माले सङ्कल्प प्रस्तावको मुख्य पाठ नेपालमा ब्लिचिङ पाउडर निर्माण गर्ने रहेको र थोरै लगानीमा पनि कम्पनी निर्माण गर्न सकिने विज्ञहरूले बताएको बताएका थिए । सङ्कल्प प्रस्तावलाई सांसदहरू कृष्णबहादुर रोकाय, गोपीबहादुर सार्की अछामी, भगवती न्यौपाने, मदनकुमारी साह गरिमा र मोहम्मद खालिदले समर्थन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =