विपद् व्यवस्थापनका लागि ७७ वटै जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा छन् : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि सरकार गम्भीर भएर लागिपरेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताए । उनले २५ वर्षको अवधिमा देशका ८६ प्रतिशत घरधुरीले कुनै न कुनै प्रकृतिको विपद्को सामना गरिसकेको उल्लेख गर्दै नेपाल भौगोलिक हिसाबले जोखिमयुक्त रहेको आधारमा सरकार काम गरिरहेको बताए । उनले विपद् व्यवस्थापनका लागि स्थानीय तहहरूलाई समेत थप सक्रिय बनाउन जरुरी रहेको बताए ।

गृहमन्त्री लेखककाअनुसार यस मनसुन अवधिभर कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशका धेरै क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको मौसम पूर्वानुमान विभागले जनाएको छ । गृहमन्त्री लेखकले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा समितिहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी पनि दिए ।

विपद् न्यूनीकरणका लागि सूचना प्रणालीलाई प्रभावकारी बनाउनेतर्फ सरकार गम्भीर रूपले लागिरहेको उनको भनाइ । गत वर्षको असोजमा काठमाडौँमा उपत्यकामा आएको बाढीको समयमा पूर्वसूचना प्रणालीले प्रभावकारी काम गर्न नसक्दा ठुलो धनजनको क्षति भएको स्वीकारे । यसपटक विपद् जोखिम न्यूनीकरणका लागि टेलिकम प्रदायकहरूसँग समन्वय भइरहेको पनि बताए ।

उनले भने ‘विगतको २५ वर्षमा देशको ८६ प्रतिशत घरधुरीले कुनै न कुनै विपद्को सामना गरिसकेको छ । त्यसैले विपद् हाम्रो प्रमुख समस्या हो भन्ने कुरामा कुनै दुबिधा रहेन । २०७२ सालको गोर्खा भूकम्प, जाजरकोट तथा पश्चिम नेपालका भूकम्प लगायतका विभिन्न समस्याको कुरा छदैछ । यस मनसुन अवधिमा कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनी प्रदेशको उत्तरी भाग र गण्डकीको प्रदेशको अधिक भागमा सरदरभन्दा अधिक वर्षा रहने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ भनेर विभागले भनेको छ । यसले के देखाउँछ त भन्दा देशका विभिन्न भागमा वर्षा औसतभन्दा बढी हुने सम्भावना देखाएको छ । त्यसको अर्थ स्वाभाविक रूपले बाढी, पहिरो र डुबानको सम्भावना बढेको छ । सडक मार्ग र ठुलो धनजनको ठुलो क्षति हुने सम्भावना पनि बढेको छ । मूलतः विपद्को विषयमा पूर्वतयारी र प्रतिकारका विषयमा सरकार गम्भीर छ । सरकार अहिले सम्भव भएसम्म विपद्को पूर्वतयारका लागि बसेको छ । सुरक्षा निकायहरूले देशभरका आ–आफ्ना युनिटहरूलाई जुनसुकै बेला पनि विपद् आउनसक्ने भएको हुनाले तयारी अवस्था रहनको लागि काम गरिरहनु भएको छ । म आफैँ पनि केही दिन अघि प्रहरीको हेडक्वाटरमा बसेर देशभरिका प्रहरीसँग अन्तरक्रिया र छलफल गरेर तयार रहन निर्देशन दिएको छु । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा समितिलाई तयारी अवस्थामा रहनको लागि निर्देश जारी गरेका छौँ । छलफल गरेर तयारी अवस्थामा राखेको अवस्था छ । सूचना प्रणाली पनि सबैभन्दा महत्त्वपूर्ण छ । यसले धेरै जनको क्षति घटाउन सक्छौँ । यसका लागि हामीले टेलिफोन प्रदायक कम्पनीहरूसँग कुरा गरेर सरकारका सम्बन्धित निकायहरूले त्यो कुरा गरिरहनु भएको छ । समितिलाई मेरो अनुरोध छ सेवा प्रदायक संस्थाहरूसँग पनि यसरी नै बसेर यो कुरामा छलफल गराउनुप¥यो । सातवटै प्रदेश सरकारलाई संघीय सरकारअन्तर्गत रहेको गोदामघरहरु समेत हस्तान्तरण गरिएको छ ।’

काठमाडौँ उपत्यकामा विपदको पूर्वतयारी तथा जोखिम कम गर्न ‘जोइन्ट कमाण्ड पोस्ट’ स्थापना गरिएको समेत गृहमन्त्री लेखकले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 6 =