रास्वपाको महामन्त्री विवाद सर्वोच्चमा, मुकुल ढकालको रिटमाथि आज सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको महामन्त्री पदको विवाद अब सर्वोच्च अदालत पुगेको छ । पार्टीले गरेको कारबाहीलाई चुनौती दिँदै डा. मुकुल ढकालले आफू नै वैधानिक महामन्त्री रहेको दाबीसहित सर्वोच्च अदालतमा रिट दायर गरेका छन्, जसमाथि आज सुनुवाइ हुँदैछ ।

न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको उक्त रिटमा डा. ढकालले रास्वपा केन्द्रीय समिति, पार्टी सभापति रवि लामिछाने, हालका महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झालाई विपक्षी बनाएका छन् । यो विवादले त्यतिबेला नयाँ मोड लिएको थियो, जब निर्वाचन आयोगले गत असार ४ गते डा. ढकाललाई पत्र लेख्दै रास्वपाको अभिलेखमा उनी नै महामन्त्री रहेको जानकारी दियो । आयोगको पत्रअनुसार, रास्वपाले २०८० चैत २० गते पदाधिकारीको विवरण अद्यावधिक गरेयता नयाँ विवरण दर्ता गरेको छैन । सोही पत्रलाई मुख्य आधार बनाउँदै ढकालले आफ्नो पद खारेज गर्ने पार्टीको निर्णय अवैधानिक रहेको जिकिर गरेका छन् ।

रास्वपाले भने गत वर्षको भदौमा बसेको सचिवालय बैठकबाटै ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको दाबी गर्दै आएको छ । तर, सो कारबाहीको विवरण निर्वाचन आयोगमा अद्यावधिक नगरेका कारण कानुनी जटिलता उत्पन्न भएको हो ।

निर्वाचन आयोगको पत्रपछि उत्पन्न विवादबीच रास्वपाले गत असार ७ गते केन्द्रीय समिति बैठक बोलाएर कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिएको थियो । पार्टीको यही निर्णयलाई ढकालले सर्वोच्चमा चुनौती दिएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले ढकालले ‘आफूलाई गरिएको निष्कासन गलत छ र महामन्त्री पद कायमै छ’ भनी रिट दिएको पुष्टि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =