आन्तरिक उद्योगको संरक्षणका लागि आयातित वस्तुको भन्सार दर बढाउनुपर्छ : प्रकाशशरण महत

काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आन्तरिक उद्योगको संरक्षणका लागि आयातित वस्तुको भन्सार दर वृद्धि गर्नुपर्ने बताएका छन् ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद महतले आन्तरिक उद्योगलाई प्रतिस्पर्धी बनाउन आयातित वस्तुहरू महँगो बनाउन जरुरी रहेको बताएका हुन् ।
उनले आन्तरिक उत्पादनमा कर लगाएको तथा आयातित वस्तुमा भन्सार घटाइएको गुनासो समेत आएको भन्दै त्यसलाई पुनः समीक्षा गर्न आग्रह गरे । भन्सार नीतिमा पुनरावलोकन नगरेसम्म आन्तरिक उद्योगलाई प्रतिस्पर्धी बनाउन नसकिने उनको भनाइ छ । सांसद महतले सुन नेपालीका लागि लक्जरी नभई संकटको बेला तुरुन्तै नगदमा रूपान्तरण गर्न सकिने भएको उल्लेख गर्दै त्यसमा लगाइएको विलासी करबारे समेत पुनरावलोकन गर्न जरुरी रहेको बताए ।
उनले ‘हामीले बाहिरबाट आउने उत्पादित वस्तुलाई चाहिँ महँगो बनाउनु पर्यो । भन्सार दर बढाउनुपर्यो । अब यसमा अर्थ मन्त्रालय सिरियस हुनुपर्छ । आन्तरिक उत्पादनमा भ्यालु एडेड ट्याक्सको सिस्टम नै नआउने भन्दा पनि बाहिरबाट आउने वस्तुमा लाग्ने भन्सार दर बढाउनुपर्छ । हाम्रो उद्योग व्यवसायलाई प्रतिस्पर्धी बनाउने हो भने भन्सार दर बढाउनुपर्यो । अहिले त घटाएको भनेर आयो । आन्तरिक उत्पादनमा कर राखेको भन्ने गुनासो पनि आयो । अब यसको सम्बोधन हुन्छ कि हुँदैन तर गम्भीर रूपले सोच्ने विषय हो भन्ने मलाई लाग्छ । सुन पनि हाम्रो लागि लक्जरी आइटम होइन । आफूहरूलाई दुःख पर्दा तुरुन्तै क्यासमा कन्भर्ट हुने भएको हुनाले यसमा पनि विचार पुर्याउनुपर्छ । यो कुरा मैले संसद पनि भनेको छु । सुन तस्करी रोक्नको लागि भन्सारमा कर लगाउनुपर्ने भएपनि पसबलबा प्रयोगका लागि किन्ने सुनमा करको बारेमा हेर्नुपर्छ भन्ने कुरा हो ।’
उनले आन्तरिक उत्पादनको प्रयोगलाई बढवा दिन आयातित वस्तुहरूलाई महँगो बनाउनुपर्नेमा जोड दिए ।








