संसदको कार्यसूचीमा राखिएका विधेयकहरू हटाइनु राम्रो होइन : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समितिबाट सर्वसम्मत पारित भई संसदको कार्यसूचीमा राखिएका विधेयकहरू हटाइनु राम्रो नभएको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले समितिमा विचार विमर्श गरे पारित भएका विधेयकहरू सदनको कार्यसूचीमा चढेर हटाइनु राम्रो नहुने बताए । विधेयकहरू समितिबाट सदनमा पुग्दाको बिचमा धेरै चलखेल हुने गरेको बताए । देशको राजनीतिक परिस्थितिलाई हेरेर आफूले महत्वपूर्ण विधेयकका लागि पनि सरकारसँग केही समझदारी गरेर अघि बढेको बताए ।

अध्यक्ष दाहालले भने ‘हामी समितिमा बस्छौँ, छलफल गर्छौं, माननीय सदस्यहरूले अध्ययन गरेर विचार गरेर, चिन्तन मनन गरेर पारित पनि गर्दछौँ । कोही सर्वसम्मतले कोही भोटिङबाट भए पनि पारित गर्दछौँ । तर हामीले पारित गरेका प्रस्तावहरू विधेयकहरू पनि फुल हाउसमा पुग्ने बेलासम्म त्यहाँ धेरै किसिमका चलखेलहरू हुने गरेका छन् । त्यसमा डिले हुने गरेको छ, धेरै धेरै चिजहरू हुने गरेको छ । अहिले पनि म असाध्यै बढी चिन्ता लागेको छ । देशको राजनीतिक परिस्थितिलाई हेरेर केही संवेदनशील र असाध्यै महत्वपूर्ण विधेयकहरू जो हामीले धेरै मेहनत गरेर सदनबाट समितिमा आयो, समितिबाट पारित गरेर सदनमा पुगेर कार्यसूचीमा चढेर पनि हटाइने जस्तो प्रक्रिया देख्दा बढो चिन्ता भएको छ ।’

अध्यक्ष दाहालले सरकारसँग अलिक बढी समझदारी बढाऔँ भन्नुको एउटा कारण सकेसम्म संवेदनशील र महत्वपूर्ण विधेयकहरू छिटो ऐनमा परिणत हुन् भन्ने रहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =