पतञ्जलि जग्गा प्रकरण

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित, थुनछेक बहसमा सर्वत्र चासो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि योगपीठलाई सरकारी जग्गा सट्टापट्टा गर्दा भएको भ्रष्टाचार प्रकरणमा बयान दिन विशेष अदालतमा उपस्थित भएका छन् । अदालतमा उनको बयान लिने प्रक्रिया सुरु भइसकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि फरार नरहेको र मुद्दाको सामना गर्न तयार रहेको सन्देश दिँदै नेपाल आफैँ अदालतमा हाजिर भएका हुन् । उनले यसअघि नै अदालतमा उपस्थित हुन पाउँ भनी निवेदन दिएका थिए, जसअनुसार पेसी तोकिएपछि उनी आज बयानका लागि उपस्थित भएका हुन् ।

उनको बयान सकिएलगत्तै आजै थुनछेक बहस सुरु हुनेछ, जसले उनी थुनामा रहेर वा तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने निर्धारण गर्नेछ । नेपालका तर्फबाट वरिष्ठ कानुन व्यवसायीहरूको टोलीले बहसको तयारी गरेको छ । उनीहरूले पूर्वप्रधानमन्त्रीको सामाजिक हैसियत, उमेर र अनुसन्धानमा प्रमाण नष्ट गर्न वा भाग्न सक्ने सम्भावना नरहेकाले साधारण तारेखमा छाडेर मुद्दाको प्रक्रिया अगाडि बढाउनुपर्ने जिकिर गर्ने जनाइएको छ ।  अर्कातर्फ, पदको दुरुपयोग गरी नीतिगत निर्णयका नाममा भ्रष्टाचार गरेको गम्भीर आरोप लागेकाले निष्पक्ष अनुसन्धानका लागि उनलाई थुनामा राख्नुपर्ने तर्क सरकारी पक्षको हुनेछ ।

अख्तियारले गत जेठ २२ गते पूर्वप्रधानमन्त्री नेपालसहितका व्यक्तिहरूविरुद्ध पतञ्जलि योगपीठलाई हेटौँडामा सरकारी जग्गा दिँदा अनियमितता र भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । प्रधानमन्त्री भएकै बेला मन्त्रिपरिषद्बाट निर्णय गराएर सरकारी जग्गा सट्टापट्टामा भूमिका खेलेको अभियोग नेपालमाथि छ । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eight =